काठमाडौं । अमेरिकाका राष्ट्रपति डनल्ड ट्रम्पले अमेरिका पेट्रियट हवाई रक्षा प्रणालीहरू नेटोलाई पठाइने र नेटोले युक्रेनमा वितरण गर्ने घोषणा गर्नुभएको छ । यसको खर्च नेटोले नै बेहोर्ने बताइएको छ ।
यो घोषणा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आपत्कालीन अनुरोधपछि आएको हो । जेलेन्स्कीले रूसको बढ्दो ड्रोन र क्षेप्यास्त्र आक्रमणका बीच १० वटा पेट्रियट प्रणालीको माग गर्नुभएको थियो ।
हाल अमेरिकाबाट हतियार आपूर्तिमा रोक लगाइए पनि ट्रम्पले रूसी आक्रमण तीव्र बन्दै गएकाले हतियार आपूर्ति पुनः सञ्चालन गर्न आवश्यक भएको बताउनुभएको छ । पेट्रियट प्रणाली युक्रेनको तहगत हवाई सुरक्षाका लागि अत्यन्तै महत्त्वपूर्ण हुने भए पनि यी महँगा छन् र सीमित मात्रामा उपलब्ध छन् । यसबीच पूर्वीइजरायलमा रहेको एउटा प्रणाली मर्मत गरी चाँडै युक्रेन पठाइने अपेक्षा पनि गरिएको छ ।