काठमाडौं । दशैंको रौनकता बढाउने पिङ्ग र चङ्गा पछिल्लो समय दुर्लभ झैं भएका छन् । दशैंमा आकाशै रंगिने गरी उडाइने चङ्गा आजकाल आक्कलझुक्कल मात्रै देखिन्छन । चाडबाडका बेला रमाइलोका लागि खेलिने पिङ्ग र चङ्गा संस्कृति लोप नै हुन लागेको हो त?
एक समय थियो दशैं लाग्नु महिनादिन अघिदेखि उपत्यकाका आकाशमा चंगा देखिने गर्थे । चंगा पसलमा केटाकेटीहरुको लाइन लाग्थ्यो । चंगा र पिङविना दशैं अपूरो जस्तै हुन्थ्यो । तर अहिले समय फेरिएको छ चङ्गा उडाउने चलन हराईसके झै भएको छ भने वर्षमा एक पटक भए पनि जमिन छोड्नुपर्छ भन्ने मान्यता अनुरुप पिङ्ग खेल्न चोक चोकमा राखिने पिङ्गसमेत दुर्लभ भइसकेका छन् ।
त्यसो त अहिले पनि चंगा नकिनिने होइन तर उडाउन नभई रेष्टुरेन्ट तथा मलहरुमा टाँगेर सजाउन । यस्तै पिङ्ग पनि चोक चोकमा खेल्नका लागि नभई दशैंको उत्सब देखाउने गरी व्यापारिक रुपमा देखाउनलाई मात्रै प्रयोग हुनेगरेका छन् ।
केटाकेटीका साथै युवाहरु समेत रम्ने चङ्गा र पिङ्गको ठाउँ आजकाल मोबाइलले लिएको छ भने बिदा हुनेबित्तिकै घुमफिरमा निस्कने चलनले समेत पूराना मनोरञ्जनमा साधन ओझेलमा परेका छन् । यसमा आकर्षण थप्न मानिसको जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै राज्यस्तरबाट योजना सहितका कार्यक्रम ल्याउनुपर्ने संस्कृतिविदको भनाई छ ।