काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिदेखि वीपी राजमार्ग सञ्चालनमा आउने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मालाई उदृद गर्दै वीपी राजमार्ग सञ्चालनमा आउनेबारे समाजिक सञ्जालमार्फत जानकारी गराउनु भएको हो ।
'बीपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनु भएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केहीबेर अघि टेलिफोनमा कुरा भयो । उहाँ सडक मर्मत गर्ने प्राविधिक टोली सहित रोशी गाउँपालिका-९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ,' सामाजिक सञ्जाल फेसबु्कमा प्रधानमन्त्री ओलीले लेख्नु भएको छ, 'उहाँका अनुसार भोलि बिहान १० बजेसम्म वीपी राजमार्ग सञ्चालनमा आउनेछ ।'
आज दिनभर र रातभर काम गर्दा बाँकी रहेका तीन ठाउँको अवरोध हटाउन सकिने सचिव शर्माको भनाइ रहेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नु भएको छ ।
अशोज ११ र १२ गते आएको भीषण वर्षापछिको बाढी-पहिरोले वीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरोले भत्काएको र बाढीले बगाएको राजमार्गको खण्डमा डाइभर्सन बनाएर अस्थायी रुपमा बाटो खुलाउन तीनै तहका सरकार क्रियाशील छन् । दशैंको मुखमा काठमाडौंंबाट पूर्वतर्फ जाने मुख्य राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन् ।