काभ्रे । रोशी खोलाले विध्वंश मच्चाएको २ साता पुग्न लागेको छ । तर, पीडितले अझै सरकारको अनुभूति गर्न पाएका छैनन्, न बासको जोहो हुन सकेको छ न बिहान बेलुकीको छाक टार्ने एक बोरा चामल । संघ, प्रदेश र स्थानीय सरकार बाटो खुलाउनमात्र केन्द्रित हुँदा नागरिकको दैनिकी कस्तो छ चासै दिएका छैनन् । आफैँ ठेक्का लगाउने, आफ्नो डोजर स्थानीय तहको बजेटमा चलाउनेलगायतको खेलमा जनप्रतिनिधि र सरकार लाग्दा पीडितलाई पीडामाथि पीडा थपिएको छ ।
काभ्रेको रोशी गाउँपालिका मझुवाका टोलप्रसाद गौतम आइतबार मध्याह्न १२ बजे चौकीडाँडाँमा भेटिँदा उहाँको साथमा दुध पुर्याउन प्रयोग गर्ने क्यान थियो । गौतमसँग गफिँदै गर्दा थाहा भयो उहाँ त बिहान ६ बजे नै दुध बेच्न बीपी राजमार्ग उक्लिनु् भएको रहेछ । भन्दै हुनुहुन्थ्यो- घर पुग्दा १-२ बज्छ होला । गौतमको मात्र होइन मझुवाका बासिन्दाको दिनचर्या नै ८ घन्टा हिडेर दुध पुर्याउँन चौकीडाँडाँ उक्लिनु रहेछ । अधिकांशले पशुपालन व्यवसाय अंगालेका छन् । बाढी आउनुअघि घरमै गाडी पुग्ने गरेकोमा बाढी र पहिरोले सडक मार्गसहित झोलुंगे पुल पनि बगाएपछि मझुवाबासीले सास्ती व्यहोर्नु परेको छ ।
काभ्रे जुकेपानीकी मैया विश्वकर्मा अधियाँ कमाएको खेत नै रोशी खोलाले बगाएपछि राहतको पर्खाइमा भौतारिइरहनु भएको छ । अपांगता भएकीसहित चार छोरी स्याहार गर्न मैयालाई धौधौ परेको छ । बाढी र पहिरोले उठिबास लगाएका बेला उता बैदेशिक रोजगारीमा गएका उनका श्रीमान दलालको फन्दामा परेर कामविहीन भएका छन् । साहुले छिटो ५ लाख ऋण तिर्न मैयालाई ताकेता गरिरहेका छन् ।
हलेसीबाट यात्रु लिएर काठमाडौं आउँदै गर्दा १२ गते बिहान चारसयटारमा पहिरोमा परेका खोटाङ यातायात प्रालिका चालक सहचालक र सवारी धनि कहिले बाटो खुल्छ र काठमाडौं पुगौला भनेर कुरिरहेका भेटिए । पहिरोमा फसेका यात्रुले छोडेका चामल र तरकारी खाएर १ हप्ता कट्यो । अब के खाने थाहा छैन ।
रोसीकै बाढीले नार्केका धावा लामा दम्पत्तिले दशकौं लगाएर जोडेको खेतमात्र लगेन, साढे २ तलाको पक्की घर पनि बगायो । लामा दम्पत्तिको घर भएको ठाउँमा करिब सय फिट गहिरो खाडल बनाएर खोला बगिरहेको छ ।
रोसी खोलाको बाढीले सयौंलाई उठिबास लगाएको छ । कसको कति क्षति भयो लेखाजोखा छैन । सडक सञ्जाल टुट्दा खाद्यान्न अभाव हुन थालेको छ । विद्युत आपूर्ति अवरुद्ध छ भने खानेपानी मुहान पुरिएको छ ।
स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेश र संघ सरकार पनि पीडितलाई राहत र पुनस्थापनामा भन्दा पनि निर्माण र ठेक्का पट्टामा व्यस्त छन् । सबैको ध्यान सडक खुलाउनेतिर मात्र केन्द्रित हुँदा नागरिकको दैनिकी कस्तो छ कसैले चासै दिएका छैनन् । यस्तो बेला तीनै तहका सरकारले आपसी समन्वयमा काम गरेको भए पीडितले राहत पाउनुका साथै पुनस्थापनासहित भौतिक संरचनाको मर्मत पनि सँगै हुने थियो ।