भौतिक पूर्वाधार तथा यातायातमन्त्री भन्छन्- दुई वर्ष भयो मैले पनि स्मार्ट लाइसेन्स पाएको छैन

आश्विन १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
भौतिक पूर्वाधार तथा यातायातमन्त्री भन्छन्- दुई वर्ष भयो मैले पनि स्मार्ट लाइसेन्स पाएको छैन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले सवारी चालक अनुमति पत्र दिन नसक्ने स्थिति लज्जास्पद भएको बताउनुभएको छ ।

शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा १०४ वटा मोबाइल फोन ट्राफिक प्रहरीलाई हस्तान्तरण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सरकारले एउटा सवारी चालक अनुमति पत्र पनि दिन नसक्ने स्थिति बन्नु गम्भीर कुरा भएको उल्लेख गर्नुभयो ।

उहाँले ट्रायल दिएर राजश्व तिरिसक्दा पनि चालक अनुमति पत्र नपाउनु गम्भीर रहेको बताउनु भयो । उहाँले ट्रायल पास गरेको एक हप्तादेखि १५ दिन भित्र पाइसक्नुपर्ने कुरा दुई वर्षसम्म नपाउनु दुःखद् भएको बताउनु भयो । यो समस्या जतिसक्दो चाँडै समाधान गर्नुपर्ने पक्षमा आफूहरु रहेको बताउनु भयो ।

मन्त्री दाहालले संघ सरकारबाट २२ लाख स्मार्ट लाइसेन्स दिनुपर्ने दायित्व बाँकी रहेकाले प्रदेशहरुसँग समन्वय गरी काम गरिरहेको बताउनु भयो । उहाँले प्रदेशले दिने भए मिति तोकेर दिन सुरु गर्न आग्रह गर्दै प्रदेशबाट नसके संघ सरकारले नै दिने बताउनु भयो ।

'यतिबेला सिंगो नेपाल सरकारले एउटा सवारी चालक अनुमति पत्र पनि दिन नसक्ने स्थिति यो गम्भीर कुरा हो,' उहाँले भन्नुभयो, 'हाम्रो लागि लज्जास्पद कुरा हो । एउटा सवारी चालक अनुमति पत्र पनि दिन नसक्ने, ट्रायल गरेर उसले राजश्व तिरिसक्दा त उसले सवारी चालक अनुमति पत्र पाउनुपर्ने हो ।'

उहाँले आफूले पनि दुई वर्षदेखि स्मार्ट लाइसेन्स नपाएको गुनासो सुनाउनु भयो । उहाँले भन्नुभयो, 'मैले पनि लाइसेन्स पाएको, दुई वर्ष भइसक्यो । एउटा रसिद बोकेर हिँडिरहेको छु ।'

राष्ट्रिय परिचय पत्र र नागरिक एप दुवैमा क्युआर कोर्ड राखे आधिकारिक मान्न सकिने बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.