उपभोक्ताको गुनासो- दसैं महँगो भयो

आश्विन १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
उपभोक्ताको गुनासो- दसैं महँगो भयो

काठमाडौं । दसैं लागेसँगै बजारमा किनमेल गर्ने मानिसहरुको चहलपहल शुरु भएको छ ।

काठमाडौं उपत्यकाका मुख्य बजारमा दसैंको लागि किनमेल गर्न उपभोक्ताहरु बजारमा निस्कँदा बजार चहलपलह देखिन थालेको छ । तर व्यापारीहरुले भने विगतको तुलनामा ७५ प्रतिशत व्यापार कम भएको भन्दै आएका छन् । उनीहरु बजारलाई दसैं नलागेको बताइरहेका छन् ।

काठमाडौं उपत्यकाका मुख्य बजार असन,न्युरोड,महाबौद्ध,भोटाहिटी लगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकहरुको चहलपलह देखिन थालेको छ । तर उपभोक्ताहरुले हरेक सामान विगतको तुलनामा महँगो रहेको गुनासो गरे । हरेक वर्ष चाडपर्व आएसँगै बजारमा जुत्ता,चप्पल,कपडा लगायतका समानको मूल्य वृद्धि हुँदा उपभोक्ता महँगीको मारमा पर्ने गरेको बताए । असन,न्युरोड,महाबौद्ध,भोटाहिटी लगायतका मुख्य बजारमा दसैंका लागि किनमेल गर्न आएका सर्वसाधरणले सोच भन्दा बजार महँगो रहेको प्रतिक्रिया दिएका छन् ।

व्यवसायी तथा व्यापारीहरुले पनि गत वर्षको तुलनामा २० प्रतिशतसम्म बजार मूल्य बढेर आएको भन्दै उपभोक्ताको पहुँच भन्दा महँगो भएको स्वीकार गरेका छन् । काठमाडौंको रानीवनबाट असनमा किनमेल गर्न आउनुभएका पूर्णचन्द्र भट्टले विगत वर्षको तुलनामा बजार धेरै महँगो भएको बताउनु भयो ।

उहाँले महिला,पुरुष तथा बालबालिकाले लगाउने कपडा पसलहरुमा मूल्य सूचीहरु समेत नभएको बताउनु भयो । उहाँले सरकार सबै व्यवसायी दर्ता र वस्तुको मूल्यसूची राख्ने व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले पसलमा मूल्यसूचि नहुँदा व्यापारीहरुले जति भने पनि हुने अवस्था देखिएको उल्लेख गर्नुभयो ।

उहाँले पसलैपिच्छे एउटै समानको मूल्य फरक-फरक भन्ने गरेको बताउनु भयो । उहाँले ग्राहकले व्यापारीसँग बार्गेनिङ गरिरहनुपर्ने अवस्था बजारमा रहेको बताउनु भयो । उहाँले मुलुकको प्रतिव्यक्ति आम्दानी कम हुँदै जाने तर हरेक वर्ष बजार मूल्यवृद्धि भइरहने अवस्था रहेको बताउनु भयो । उहाँले सरकारले बजारलाई नियन्त्रण गर्न आवश्यक रहेको भन्दै बजार नियन्त्रण नभए आम सर्वसाधरण जनता मूल्यवृद्धिको मारमा परिरहेने अवस्था रहेको बताउनु भयो ।

अर्को काठमाडौंको सुकेधाराबाट किनमेलको लागि आउनुभएकी रुपा गुरुङको भनाई पनि त्यस्तै रहेको छ । उहाँले विगतको तुलनामा बजारमा सामानको मूल्य २ सय रुपैयाँ भएपनि महँगो पाइएको बताउनु भयो । उहाँले दसैं नेपालीहरुको सबैभन्दा ठूलो चार्ड भएकाले पनि बजार मूल्य उपभोक्ताको लागि सहज र सस्तो सरकारले बनाउनुपर्ने बताउनु भयो । त्यस्तै काठमाडौंको वसुन्धराबाट किनमेलको लागि असन आउनुभएकी स्मृती सेडाईले पनि सामान्य समयको भन्दा दसैंमा आएर महँगो देखिएको प्रतिक्रिया दिनुभयो । उहाँले काठमाडौंका अन्य बजार भन्दा असनमा सस्तो रहेको बताउनु भयो ।

उहाँले मानिसहरुको केही आम्दानी बढेको र हरेक घरपरिवारमा एक जना विदेश भएकाले विगतको जस्तो नयाँ लुगा लगाउन दसैं कुर्नुपर्ने अवस्था नभएको बताउनु भयो । त्यस्तै,सुमित्रा सेडार्इंले दसैं लागेकाले बजार हरेक वस्तु महँगो रहेको बताउनु भयो । भक्तपुरबाट न्युरोडमा किनमेल गर्न आएकी क्रिषा भट्टराईले भने फरक प्रतिक्रिया दिनुभएको छ । उहाँले विगतको भन्दा अहिले सस्तोमा समान पाउन थालेको बताउनु भयो । उहाँले एक हजार रुपैयाँ भन्दा तलको मूल्यमा कुनैपनि सामान नपाउने अवस्थामा अहिले एक हजारमा राम्रो एक जोर लुगा किन्न सकिने अवस्था रहेको बताउनु भयो ।

अधिकांश उपभोक्ताहरुले बजार महँगो भएकाले यो वर्षको दसैं महँगो हुने भएको प्रतिक्रिया दिए । उनीहरुले बजारमा हरेक लुगादेखि जुत्ता चप्पलसम्मको मूल्यवृद्धि हुँदा सामान्य वर्गका मानिसहरुले महँगीको मार खेप्नुपर्ने अवस्था रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.