फेरि बल्झियो कृष्णभिरमा पहिरोको जोखिम !

आश्विन १७, २०८१ |पोषनाथ अधिकारी
फेरि बल्झियो कृष्णभिरमा पहिरोको जोखिम !

धादिङ । धादिङको कृष्णभिर । कुनै बेला कहाली लाग्दो ठाउँ थियो । २०५७ सालको साउनमा पहिरो सुरु भएपछि लगातार ७ वर्षसम्म कृष्णभिरमा पहिरोले निकै जनधनको क्षति भयो । 

सरकारको लामो प्रयासमा पहिरो रोक्ने प्रविधिको प्रयोगले पछिल्लो २० वर्ष कृष्णभिरमा पहिरो गएन । तर अहिले फेरि कृष्णभिरमा पहिरो झर्न थालेको छ । लगातारको वर्षा पछि कृष्णभिरमा झरेको पहिरोले कतै थप समस्या निम्त्याउने त होइन भन्ने चिन्ता थपिएको छ ।

२०५७ साल साउन देखि सुरु भएको धादिङको कृष्णभिरको पहिरोले निरन्तर सात वर्ष दुःख दियो । राजधानीको लाइफलाइनको रूपमा  रहेको पृथ्वी राजमार्ग कृष्णभिरकै पहिरोका कारण लगातार २० दिनसम्म सावारी आवागमन ठप्प भयो । पहिरोमा परि धेरैले ज्यान गुमाए । 

कृष्णभिरकै पहिरोले केही समय त्रिशूली नदीसमेत छेकिएको स्थानीय स्मरण गर्दछन् । नदीदेखि नै वाल उठाएर माथिल्लो भागमा बायो इन्जिनियरिङ प्रविधिको प्रयोग गरी निकै मेहनत गरी त्यो समयमा नै करिब ३ करोड खर्च गरेर कृष्णभिरको पहिरो रोकिएको थियो । तर अहिले बिस वर्षपछि पहिरो पुन झर्न थालेको छ ।

कृष्णभिर क्षेत्रमा सडक भासिएको खबरपछि अध्ययन गर्न खानी तथा भूगर्भ विभागबाट आएका भूगर्मविदहरुले बाढीले सडक र पहिरोको सुरक्षा गर्न लगाइएको वाल नै भत्काएको बताएका छन् । उनीहरूले सडकभन्दा तल र माथि पनि ठाउँ ठाउँमा पहिरो देखिएकोले जोखिम भएको बताएका छन् । थप अध्ययन गरी तत्काल समाधान नखोजिए समस्या हुने उनीहरू स्विकार्छन् ।

पर्वका बेला सवारीका साधनहरूको चाप भएको बेला पहिरोको उच्च जोखीमलाई मध्यनजर राख्दै कृष्णभिर क्षेत्रमा २४ सै घण्टा प्रहरी परिचालन गरी सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ । पहिरोको जोखिम कम गर्न निर्माणाधीन सडक आयोजनाले भासिएको स्थानमा पीपीसी गरी प्लास्टीकले छोपिएको छ ।

अविरल वर्षासँगै आएको त्रिशूली नदीको बाढीले कृष्ण भीरको तल्लो भागमा क्षति पुर्‍याए पछि सडक भासिन सुरु भएको हो । 


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।