बाढी र डुबानले उपत्यकाका हाउजिङ र कोलोनीमा पनि क्षति

आश्विन १७, २०८१ |प्रकाश बम
बाढी र डुबानले उपत्यकाका हाउजिङ र कोलोनीमा पनि क्षति

काठमाडौं । पछिल्लो दशकमा व्यवस्थित बसोबासका लागि अपार्टमेन्ट र हाउजिङप्रति आकर्षण बढ्दो छ । घर बनाउन झन्झट मान्ने र आरामदायी बसोबास चाहनेहरूले अपार्टमेन्ट र हाउजिङ रोज्ने गरेका छन् । तर तिनै अपार्टमेन्टहरू यसपालि सबैभन्दा बढी प्राकृतिक विपद्को चपेटामा परेका छन् । गत साता आएको बाढीले काठमाडौं उपत्यकाका नाम चलेका हाउजिङ तथा अपार्टमेन्ट डुबानमा परे । अहिलेसम्म पनि यी संरचनालाई पूर्ववत् अवस्थामा फर्काउन सकिएको छैन ।

गत साता आएको बाढीले ललितपुरको हात्तीवनस्थित मेरो सिटी अपार्टमेन्ट, बालकुमारीस्थित बालकुमारी कोलोनी, नख्खुस्थित हार्मोनीलगायतका कोलोनी डुबानमा परे । जबकि यी अपार्टमेन्ट र कोलोनी सुरक्षित ठानिएको थियो ।

बालकुमारी कोलोनीमा ६ फिटसम्म लेदोसहितको पानी जम्यो । भुइँतलामा राखिएका सबै सामानमा क्षति पुग्यो । अहिले बिजुली बत्ती नियमित भएपछि पानी र ढल निकासको समस्या छ । एक साता बितिसक्दा पनि कोलोनी सफा गरिसकिएको छैन ।

हात्तीवन खोला छेउमै रहेको मेरो सिटी अपार्टमेन्टको पहिलो तलासम्मै पानी र हिलो जम्यो । अहिले यहाँ डोजर लगाएर सफा गर्ने काम भइरहेको छ । ललितपुरकै नख्खुमा रहेको हार्मोनी कोलोनीको अवस्था पनि उस्तै छ । यहाँ पनि डोजर लगाएर सरसफाइ गर्ने क्रम चलिरहेको छ ।

नदी तथा खोलानजिक र होचो स्थानमा रहेका हाउजिङ तथा कोलोनी डुबानको चपेटामा परे । हाउजिङका भुइँतला जलमग्न हुँदा अपार्टमेन्टका बेसमेन्ट डुबानमै परे । संरचना निर्माण गर्दा इन्जिनियरिङदेखि सबै कुरामा निकै मोटो रकम खर्च गरी सुरक्षित बनाइएको दाबी गर्ने व्यवसायीलाई अहिलेको विपद्ले झस्काएको छ । सस्तोमा पाइने जग्गामा संरचना बनाएर बिक्री गरिँदा त्यसको मार उपभोक्ताले खेप्नुपरेको छ । 

अर्को तर्फ भूगोलको पूर्ण मुल्यांकन नगरी प्रभावमा परेर पालिकाहरूले निर्माण स्वीकृति दिँदा पनि नागरिकले सास्ती बेहोर्नु परेको हो । बसोबासका हिसाबले सुरक्षित मानिने आवासीय क्षेत्रको अवस्था यस्तो छ । अबदेखि आउन सक्ने विपद्लाई समेत ध्यानमा राखेर यस्ता संरचना निर्माण गर्ने हो भने मात्र सुरक्षित बनाउन सकिन्छ ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।