काठमाडौं । बाढी र पहिरोका कारण अवरुद्ध सडक मर्मतमा ढिलाइ हुने भएपछि दसैंमा यात्रा गर्न चाहनेहरु अलपत्र पर्ने जोखिम बढेको छ । दसैंमा अग्रिम टिकट बुकिङ खुला रहने भए पनि बीपी राजमार्ग, कान्ति लोकपथलगायत बाटो खुल्ने/नखुल्ने टुंगो छैन । अरु सडकको अवस्थासमेत राम्रो नहुँदा यात्रा कष्टकर बन्ने देखिएको हो ।
काठमाडौं नजिकै रहेको धादिङको झ्याप्ले खोलामा पहिरो पन्छाइए पनि सडकको अवस्था राम्रो छैन । पृथ्वी राजमार्गको ठाउँठाउँमा अवरोध कायमै छ । बीपी राजमार्गका १३ ठाउँमा सडक भासिएको छ । केही ठाउँमा त सडकको नामोनिशाननै छैन । कान्तिलोकपथको चारघरे चापागाउँदेखि नै पहिरोले सडक क्षतविच्छेद बनाएको छ । यो त भयो काठमाडौं भित्रिने र बाहिरिने मुख्य सडक । पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्तिलोकपथ बाहेक सहायक बाटोहरुको अवस्था पनि उस्तै छ । सँगै दसैं पनि नजिकिसक्यो । काठमाडौं उपत्यकाबाट मात्रै १५ लाखभन्दा बढी मानिस यिनै मार्ग हुँदै दसैंका लागि बाहरिने तरखरमा छन् । कतिले त अग्रिम टिकट पनि लिइसके भने कतिले पाएकै छैनन् । तर, सडकको दुरावस्था र बाढीको भयले कसरी बाहिरिने भन्ने चिन्ता उनीहरुमा छ ।
चाडपर्वमा आफ्नै थातथलो फर्नेहरुको लर्को लाग्छ । तर, सरकारले अहिलेसम्म पनि घर जान चाहनेहरुलाई सुरक्षित पुर्याउने योजना बनाएको छैन ।
यातायात व्यावसायीहरु भने सडक मार्ग सहज बनाइदिने हो भने नवमीसम्ममा यात्रा गर्न चाहने सबैलाई गन्तव्यसम्म पुर्याईदिने दाबी गरेका छन् । सडकको अवस्था सुधार नहुने हो भने जबरजस्ती बस चलाउन बाध्य नहुने उनीहरुको भनाइ छ ।
त्यसो त अहिले वर्षा रोकिइसकेको छ । अधिकांश खोलामा पानीको बहाव पनि घटेको छ । तर, हालसम्म पनि बीपी राजमार्ग, कान्तिलोकपथलगायत सहायक सडकहरुमा कति क्षति भयो भन्ने सरकारलाई थाहा नै छैन । जसका कारण यात्रामा निस्कन हतार गर्नु पनि जोखिमपूर्ण नै हुनसक्छ ।