काठमाडौं । बाढी र पहिरोले राजमार्गहरुमा सवारी अवागमन प्रभावित भएको मौका छोपेर वायु सेवा प्रदायकहरुले हवाइ उडानमा अत्यधिक भाडा लिएको विषयमा गृह मन्त्रालयले चासो राखेको छ ।
राजमार्गमा सवारी आवागमन सहज हुन अझै केही दिन लाग्ने र अहिले आन्तरिक उडानमा भाडा अत्यधिक लिएको गुनासो आएपछि गृह मन्त्रालयले तत्काल सच्याउन भनेको हो । आज आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले राजमार्गमा अलपत्र परेकाहरुको उद्धार र हवाइ भाडा बढेकोतर्फ प्रधानमन्त्री र गृह मन्त्रीले नै चासो राखेकाले व्यवसायीलाई सचेत गराउने बताउनुभएको हो ।
आजसम्म देशैभर बाढीले २ सय ३२ जनाको ज्यान गएको र अलपत्र र वेपत्ता भएकाहरुको खोजी अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । पीडितको उद्धार, राहत वितरण र अन्य सहजीकरणका लागि मन्त्रालयले ८ जना सहसचिवको कार्यदल बनाएर प्रभावित जिल्लामा पठाएको छ । असोज २१ गतेसम्म सुझावसहितको प्रतिवेदन बुझाउने गरी सहसचिवहरुलाई खटाइएको प्रवक्ता तिवारीले जानकारी दिनुभयो ।
गृह मन्त्रालयले बाढी, पहिरो र डुवान प्रभावित जिल्लामा राहत वितरणको काम सुरु भएको जनाएको छ । राजमार्गहरुमा सवारी आवागमन सहजीकरण गर्ने र राहत वितरण पहिलो प्राथमिकतामा रहेको सरकारले जनाएको छ ।