काठमाडौं । बाढीपहिरोका कारण देशभरका ३१ राजमार्ग अवरुद्ध भएका छन् ।
सडक विभागका अनुसार ४ सय १५ राजमार्गमा एकतर्फी यातायात सञ्चालनमा छन् । अवरुद्ध भएका स्थानमा राजमार्ग खुलाउने प्रयास भैरहेको विभागले जनाएको छ। हेटौंडा-काठमाडौं छोटो दूरीको वैकल्पिक मार्ग भीमफेदी-कुलेखानी-फाखेल सडक दुई दिनभित्रमा सञ्चालनमा ल्याउने गरी काम भईरहेको बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
गत असोज ११ र १२ गते गएको बाढी पहिरोले भीमफेदी-कुलेखानी-फाखेल र भीमफेदी-कुलेखानी-सिस्नेरी सडक अवरुद्ध छ । पहुँच मार्गलाई मर्मत गरी सञ्चालनमा ल्याउन बुधबार बिहानदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको जनशक्ति समेत परिचालन गरिएको छ । बिहीबार बेलुकासम्ममा भीमफेदी-कुलेखानी-फाखेल-हुमानेसम्मको सडक सञ्चालनमा ल्याउने गरी काम भईरहेको भौतिक पुर्वाधार विकासमन्त्री अमन मास्केले बताउनुभयो ।
यसैगरी हेटौंडा-काठमाडौ जोड्ने कान्तिराजपथ पनि अवरुद्ध नै छ । यस सडकको दर्जन स्थानमा पहिरो खसेको छ । मकवानपुर र ललितपुर जोड्ने बगुवा खोला पुल क्षतिग्रस्त भएका कारण तत्काल यो मार्ग सञ्चालनमा ढिलाइ हुने भएको हो । यसैगरी नागढुंगा-नौविसे सडक खण्डमा निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर पन्छाएपछि झ्याप्ले खोला क्षेत्रमा दुईतर्फी सडक सञ्चालनमा आएको छ भने धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पर्ने पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएर एकतर्फी भएको छ । सडक तीस मिटर भासिएको हो। उता बिपी राजमार्गको नेपालथोक सडक खण्ड पनि खुल्न सकेको छैन ।
यसैगरी, बाढीपहिरोका कारण हालसम्म २ सय ३२ जनाको मृत्यु तथा १ सय ६५ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाको छ । बाढीपहिरोमा परी २३ जना अझै बेपत्ता भएको र उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ।