बाढी पहिरोको विपद्‍मा ज्यान गुमाउने २ सय २४ पुगे, १७ अर्बको क्षति

आश्विन १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
बाढी पहिरोको विपद्‍मा ज्यान गुमाउने २ सय २४ पुगे, १७ अर्बको क्षति

काठमाडौं । शुक्रबार र शनिबारको भारी वर्षाका कारण देशका धेरैजसो स्थानमा आएको बाढी, पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या २ सय २४ पुगेको छ । अहिलेसम्म बाढी, पहिरो र डुबानबाट २ सय २४ जनाको मृत्यु भएको पुष्टि सरकारले गरेको हो । त्यस्तै २४ जना बेपत्ता छन् भने १ सय ४३ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार विपद्‌मा परेका ४ हजार ३ सय ३१ जनाभन्दा बढीको उद्धार गरिएको छ । हालसम्म खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड, सडक संरचनामा २ अर्ब ५२ करोड, ऊर्जाका पूर्वाधारमा ४ अर्ब र सिँचाइ पूर्वाधारमा १ अर्बको क्षति भएको सरकारले जनाएको छ । यस्तै, ३७ वटा राजमार्ग अवरुद्ध भएकामा ९ वटामा अवरोध हटाइ सञ्चालनमा ल्याइएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत नागढुंगाको झ्याप्ले खोलाको पहिरो पन्छाएपछि यातायात दुईतर्फी सञ्चालनमा आएको छ । यस्तै, सञ्चालनमा रहेकामध्ये ६ सय ३७ दशमलब नौ-तीन मेगावाट जडित विद्युत क्षमताको १६ वटा जलविद्युत आयोजना, ११ सय ३९ दशमलव १९ मेगावाट जडित विद्युत क्षमताका १८ वटा निर्माणाधीन जलविद्युत आयोजना र ५ वटा प्रमुख टावरहरुमा क्षति पुगेको छ । दुरसञ्चार कम्पनीका ३ सय १२ साइटमा क्षति पुगेको छ भने कृषि तथा पशुपन्छीतर्फ ६ अर्बको क्षति भएको अनुमान गरिएको छ ।

खोज तथा उद्धार कार्यका लागि ३० हजार ७ सय ३१ सुरक्षाकर्मी परिचालन गरिएको तथ्यांक पनि सरकारले सार्वजनिक गरेको छ । यस्तै, बाढीपहिरो तथा डुबानका कारण मृत्यु एवं बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकम वितरण थालिएको र खोज तथा उद्धार कार्य दुई दिनभित्र सम्पन्न गरिने सरकारले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.