काठमाडौं । देशका अधिकांश स्थानमा जारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ। अत्यधिक वर्षाका कारण वर्षा मापन केन्द्र रहेका १८ स्थानमा चेतावनीको तह पार गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार धेरै क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिनभर नै बदली भएर सातै प्रदेशका धेरै ठाउँमा पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ ।
कोशी प्रदेशका झापा, इलाम, मोरङ र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने बाढी, पहिरो र डुबानको जोखिमका साथै ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्नसक्ने भएकाले सतर्कता अपनाउन ती भेगका सर्वसाधारणमा विभागले अनुरोध गरेको छ । तराई भूभागका केही स्थानमा हुरीबतास चल्ने सम्भावना पनि छ ।
आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने नदीहरूको विवरण पनि सार्वजनिक गरेको छ ।
भारी वर्षाका कारण देशका ठूला नदी आसपासका क्षेत्र जोखिममा रहने विभागले पूर्वानुमान गरेको छ । नारायणी, कन्काइ, कमला बागमती राप्ती बबइलगायतका नदीमा आज उच्च र भोलि अति उच्च जोखिम रहने विभागले जनाएको छ ।
मनसुनी वर्षाका कारण सात वटै प्रदेश जोखिममा रहने भन्दै गृह मन्त्रालयले आज र भोलि हिमाली र पहाडी जिल्लामा रात्रि बस नचलाउन आग्रह गरेको छ । मन्त्रालयले अत्यावश्यक काम परेमा बाहेक यात्रा नगर्न पनि सर्वसाधारणलाई सुझाव दिएको छ ।
तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न सुझाव दिइएको छ । चट्याङ परिरहेका बेला रुखमुनी, बलेनी र घरबाहिर नबस्न भनिएको छ । यस्तै किसानलाई धान नकाट्न र काटिसकेको भए थन्क्याउन सुझाव दिइएको छ ।
हिजो बिहानदेखि परेको निरन्तरको वर्षाले कोशी प्रदेशका नदीहरूको सतह बढेको छ भने समतल भूभाग जलमग्न भएका छन् । एकनासले वर्षा भएपनि बाढी र डुबनले धनजनको क्षति भएको छैन ।वर्षाका कारण मोरङका अधिकांश सामुदायिक विद्यालयमा छुट्टी दिइएको छ ।