बैंकिङ कसुर र सहकारी ठगीका मुद्दामा मिलापत्रको लागि बाटो खुला

आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
बैंकिङ कसुर र सहकारी ठगीका मुद्दामा मिलापत्रको लागि बाटो खुला

काठमाडौं । बैंकिङ कसुर र सहकारी ठगीको मुद्दामा मुद्दा मिलापत्रको लागि बाटो खुला भएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत महान्यायाधिवक्ता रमेश बडालले यस्तो जनकारी दिनुभएको हो । उहाँले पहिला बैंकिङ कसुरको चेक अनादर मात्रै रहेको तर अहिले सहकारी ऐन अन्तर्गतको कसुर र बैंकिङ कसुरमा मुद्दा चल्ने बताउनु भयो ।

ऋण प्रवाहसँग सम्बन्धित भएर गएका विषयवस्तुहरु पनि मिलापत्र गर्न दिनुपर्छ भन्ने निस्कर्षमा आफूहरु पुगेको उहाँले बताउनु भयो । हालै संसद्‌ले दिएको सुझावले पनि पीडितलाई छिटो भन्दा छिटो राहत दिनेगरी अघि बढ्नुपर्न अवस्था रहेको बताउनु भयो । ‘मिलापत्र गरेर भिक्टिमले पैसा पाउन सक्छ भने हामीले यसमा मिलापत्रको बाटो खोल्दिने ताकि यसले पीडितहरुलाई छिटो न्याय प्राप्त गर्नलाई सजिलो होस् भन्ने हिसावले हामीले यो निर्णयमा पुग्यौँ,’ उहाँले भन्नुभयो, ‘सँगै हामीले बैंकिङ कसुर र सहकारी ठगीको मुद्दामा पनि मुद्दा मिलापत्रको लागि बाटो खुला गरेका छौँ ।’

फौजदारी मुद्दा मिलापत्र गर्ने विषय नेपालमा नयाँ भएको पनि उहाँको भनाइ छ । अहिलेसम्म प्राकृतिक व्यक्तिलाई मात्रै सर्वसाधारण व्यक्ति भन्दै मान्दै आएकामा अबदेखि कानुनी व्यक्ति पनि सर्वसाधारण भित्र पर्ने सर्वोच्च अदालतको फैसलापछि कानुनी व्यक्ति अर्थात् संस्थाहरुको विषयहरु पनि मिलापत्र भित्र समावेश गर्नेगरी निर्देशन दिएको बताउनु भयो । अपराधिक विश्वासघात, ठेक्कापट्टासँग सम्बन्धित रहेका कतिपय घटनालाई पनि मिलापत्र गर्नसक्ने (अवस्था हेरी) व्यवस्था गरिएको बताउनु भयो ।

धेरै सजाय माग गर्ने मात्रै समस्याको समाधान नभएकाले सम्बन्धित मुद्दाअनुसारको अभियोजन हुनुपर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement