सहकारी ठगी प्रकरणमा छविलाल जोशीमाथि कसरी अघि बढ्दै छ अनुसन्धान ?

पीडित भन्छन्- हाम्रो पैसा जसरी पनि फिर्ता दिनुपर्छ
आश्विन ७, २०८१ |भुपाल गुरुङ
सहकारी ठगी प्रकरणमा छविलाल जोशीमाथि कसरी अघि बढ्दै छ अनुसन्धान ?

पोखरा । गोर्खा मिडियाका पूर्वसञ्चालक रवि लामिछानेका साझेदार छविलाल जोशी पक्राउ परेपछि सहकारी रकम अपचलन प्रकरण पुनः एक पटक सतहमा आएको छ । 

संसदीय समितिको प्रतिवेदन कार्यन्वयनका लागि गृहमन्त्री रमेश लेखकले निर्देशन दिएको केही घण्टामै जोशी हिजो पक्राउ परेका हुन् । जोशीलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराएको प्रहरीले अनुसन्धानका लागि पाँच दिनको म्याद पाएको छ । प्रहरी अब जोशीविरुद्ध ठगी र संगठित अपराधनमा अनुसन्धान अघि बढाउन तयारीमा छ ।

काठमाडौंमा पक्राउ गरेर हिजो पोखरा ल्याइएका छविलाल जोशीलाई कास्की प्रहरीले आज दिउँसो साढे १२ बजे जिल्ला अदालत कास्कीको ६ नम्बर इजालासमा पेस गरेको थियो । जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद दिएको छ ।

जोशीलाई म्याद थप गर्न अदालत लैजाने दिन आज बिहानै देखि अदालत वरपर भने तनावपूर्ण देखियो । त्यसैलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था समेत कडा पारेको थियो । पोखराको सहिदचोकमा एका तर्फ सूर्यदर्शन सहकारीपीडित र अर्को तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले प्रदर्शन गरे । रास्वपाका नेता कार्यकर्ता र सहकारीपीडित केही समय आमने-सामने भएका थिए ।

गोर्खा मिडियामा साढे ६५ करोडभन्दा बढी रकम गएको संसदीय समितिको निष्कर्ष छ । त्यसमा पोखराको सूर्यदर्शन सहकारीबाट मात्रै ५ करोड रूपैयाँ गएको देखिएको छ । सहकारीको अपचलनमा संलग्नता रहेको आरोपमा पक्राउ परेका जोशीलाई अदालत पेस गर्ने थाहा पाएपछि सूर्यदर्शन सहकारीपीडितहरु पनि बिहानै देखि अदालत परिसर पुगेका थिए । 

सहकारी पीडितहरुले आफ्नो बचत फिर्ताको माग गर्दै बिहान जिल्ला प्रशासन कार्यलय अगाडि प्रदर्शन समेत गरे । दिनभर जसो अदालत परिसर मै बसेका उनिहरु छविलाललाई म्याद थप भएपछि मात्रै फर्किए ।

५ दिन हिरासतमा राख्न म्याद पाएको कास्की प्रहरीले जोशी माथी आजै देखि थप अनुसन्धान थाल्ने बताएको छ । सहकारीको रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले तत्कालीन सञ्चालक जोशीसहित अध्यक्ष जिबी राई, कोषाध्यक्ष कुमार रम्तेल, र प्रबन्ध निर्देशक रवि लामिछानेलाई पनि कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ । 

रम्तेल अहिले पुर्पक्षा लागि कास्की कारागार मै छन् भने जिबी र रविलाई पक्राउ गर्न सकिएको छैन ।


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।