इन्द्रजात्राको आज अन्तिम दिन, यसरी मनाइयो नानिचा यात्रा !

आश्विन ५, २०८१ |नारायण किलम्बू
इन्द्रजात्राको आज अन्तिम दिन, यसरी मनाइयो नानिचा यात्रा !

काठमाडौं । उपत्यकाको मुख्य पर्व इन्द्रजात्राको अन्तिम दिन आज महिलाहरुले जीवित देवी कुमारी, गणेश र भैरवको रथ तानेर नानिचा यात्रा मनाइएको छ । १३ वर्षदेखि महिलाले रथ तान्ने चलन सुरु भएको हो । टोल-टोलबाट जम्मा भएका नेवार समुदायका महिलाहरुले रथ तान्दा वसन्तपुर क्षेत्रमा उत्साह र रौनक छाएको थियो ।

इन्द्रजात्राको अन्तिम दिन शनिबार नेवार समुदायका महिलाहरुले जीवित देवी कुमारी, गणेश र भैरवको रथ तानेर नानिचा यात्रा मनाएका छन् । रथमा बस्ने अगुवाको हैंसेको तालमा महिलाहरुले पनि हाइसे भन्दै रथ तान्दा वसन्तपुर क्षेत्र नै गुन्जायमान भएको थियो भने रथ तान्न महिलाबीच तछाडमछाड नै थियो । तीनवटै रथलाई वसन्तपुरबाट दुई वटा डोरीले तानेर नरदेवी, किलागल, भेडासीं, इन्द्रचोक हुँदै पुन: वसन्तपुर ल्याउने चलन छ ।

विगतमा इन्द्रजात्राका क्रममा महिलाहरुले देवीदेवताको रथको डोरीसमेत छुन हुँदैन भने मान्यता थियो । गणतन्त्र स्थापनापछि सांस्कृतिक पर्वमा आएको रुपान्तरणसँगै २०६९ सालदेखि जात्रामा नानिचा यायेगु अर्थात् महिलाले रथ तान्ने परम्परा सुरु भएको हो । नानिचा नाम गरेकी महिलाको नाममा थालनी भएको यो जात्रामा सहभागी हुन पाउनुलाई समानताको अवसरका रुपमा लिएका छन् ।

जात्रामा लाखे, पुलुकिसी र सव भकु लगायतका नाचसमेत देखाउने चलन छ । शनिबार साँझ शुभसाइतमा लिङ्गो ढालेसँगै जात्रा समापन हुन्छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement