प्रधानमन्त्री ओली दोहामा

आश्विन ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री ओली दोहामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन न्युयोर्क जाने क्रममा कतारको दोहा पुग्नु भएको छ । प्रधानमन्त्री ओली नेपाली टोलीको नेतृत्व गर्दै आज बिहान न्यूयोर्कका लागि प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्री ओली स्थानीय समयअनुसार दिउँसो सवा ३ बजे हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा कतारका लागि कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ट अधिकारीहरुले स्वागत गरेका थिए । प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उदघाटन सत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुनेछ ।

यसैगरी असोज १० गते उहाँले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसअघि प्रधानमन्त्री ओलीले असोज ७ गते कोलम्बिया विश्वविद्यालयमा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्य : सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयको कार्यक्रमलाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुनेछ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्युरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्नुहुनेछ । उहाँले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीका साथमा उहाँकी पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीसहितको प्रतिनिधि मण्डल आज अमेरिकाको न्युयोर्क प्रस्थान गरेको हो । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनुहुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement