बालमैत्री बन्दै अछामका वडा कार्यलय

भाद्र २९, २०८१ |खम्म खत्री
बालमैत्री बन्दै अछामका वडा कार्यलय

अछाम । २०८७ सालभित्र देशका सबै पालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने राष्ट्रिय लक्ष्य छ । तर अहिलेसम्म थोरै स्थानीय तहमा मात्र बालमैत्री शासन घोषणा गरिएको छ । अझ सुदूरपश्चिमको अछाममा त दुइटा वडा मात्र बालमैत्री घोषणा भएका थिए । अब अर्को एउटा वडा पनि बालमैत्री घोषणाको सूचीमा दर्ज भएको छ ।

२०८७ सालभित्र देशका सबै पालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने राष्ट्रिय रणनीति छ । यही अनुसार स्थानीय तहलाई बालमैत्री घोषणा गर्ने क्रम जारी छ । अछामको मेल्लेख गाउँपालिकाले वडा नम्वर ७ नन्देगडालाई पनि अब बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको सूचीमा दर्ज गरेको छ । घोषणा सँगै वडा नं. ७ अछामको तेस्रो बालमैत्री वडा भएको छ । एक कार्यक्रमकाबीच पूर्व उपप्रधान रक्षा तथा गृह मन्त्री भीमरावलले वडालाई बालमैत्री घोषणा गर्नुभयो ।

बालबालिकालाई हुर्काउने क्रममा घरपरिवारबाट दिइएको माया स्नेह सेवासुविधा तथा पारिवारिक शिक्षाले उनीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्दछ । बालमैत्री स्थानीय शासनका आधारभूत ५१ सूचक पूरा गरेपछि बालमैत्री घोषणा गर्न पाइन्छ ।

बालबालिका मैत्री वडा हुन शतप्रतिशत बालबालिका विद्यालय भर्ना हुनुपर्ने मात्र छैन, विद्यालयहरुमा छात्र-छात्रामैत्री शौचालयको समेत व्यवस्था गर्नुपर्ने छ । सबै बालबालिकालाई पूर्ण खोप लगाएको हुनुपर्ने र सवै बालबालिकाको जन्मदर्ता गराएको लगाएतका सबै सूचकहरु पूरा गरेका हुनुपर्ने छ ।

बालमैत्री स्थानीय शासन घोषणा भएपछि शिक्षा स्वास्थ्य जस्ता आधारभूत आवश्यकता र बालबालिकाको पहुाचमा समेत वृद्धि हुने अपेक्षा अभिभावक र बालबालिकाको छ । बालमैत्री वडा घोषणापछि बालबालिका सिर्जनशील हुने र उनीहरुमाथि हुने दुर्व्यवहार र बालहिंसा रोकिने अपेक्षा प्रहरी र सरोकारवालाहरुको छ ।

मेल्लेख गाउँपालिकाले वडा नं. ७ नन्देगडा लगत्तै वडा नं. ६ शोड्षालाई पनि बालमैत्री घोषणा गर्ने तयारी गरेको छ । बालअधिकार र बालसंरक्षण गर्न एउटा वा दुई वटा वडालाई बालमैत्री घोषणा गरेर मात्र हुँदैन । पालिकाका सबै वडालाई बालमैत्री घोषणा गरी नियमित अनुगमन गर्न समेत उत्तिकै आवश्यक छ ।


Image

खम्म खत्री

खत्री कान्तिपुर टेलिभिजनका अछाम संवाददाता हुन् ।