'बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी' भन्ने नारासहित आज ६०औं बाल दिवस मनाइँदै

धेरै बालबालिका शिक्षा, स्वास्थ्य, उचित आहारजस्ता आधारभूत सेवाबाट अझै बञ्चित
भाद्र २९, २०८१ |नारायण किलम्बू
'बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी' भन्ने नारासहित आज ६०औं बाल दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय बाल दिवस । 'बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी' भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रमका साथ ६० औं बाल दिवस मनाइँदैछ । तर धेरै बालबालिका अझै पनि शिक्षा, स्वास्थ्य, उचित आहारजस्ता आधारभूत सेवाबाट वञ्चित हुनुपरेको छ ।

राष्ट्रिय बाल अधिकार परिषद्ले १७ वर्षसम्मको उमेर समूहलाई बालबालिका भनेर परिभाषित गरेको छ । राष्ट्रिय जनगणनाअनुसार नेपालमा १७ वर्षसम्मका बालबालिकाको संख्या ९८ लाखभन्दा बढी छ । जसमध्ये ५१ दशमलव ८ प्रतिशत बालक र ४८ दशमलव २ प्रतिशत बालिका छन् । 

१० देखि १४ वर्ष उमेर समूहका बालबालिका २९ प्रतिशत बालबालिका छन् । बालअधिकारलाई संविधानमा मौलिक हकका रुपमा राखिएको छ । तर अझै धेरै बालबालिका शिक्षा, स्वास्थ्यजस्ता आधारभूत अधिकारबाट वञ्चित छन् । हरेक वर्ष बालदिवस मनाए पनि गरिबी र विपन्नताकै कारण बालबालिकाहरु जोखिमपूर्ण काम गर्न बाध्य छन् ।

सरकारले हरेक वर्ष भदौ २९ गते बाल दिवस मनाउने गर्छ । दिवसलाई औपचारिकतामा मात्र सीमित नगरी समस्या परेका यस्ता बालबालिकाको अधिकार सुनिश्चित गर्न सरोकारवालाको माग छ । बालबालिकाको हक-अधिकारको प्रत्याभूतिका लागि कानुनी व्यवस्था भए पनि कार्यान्वयन फितलो हुने गरेको छ । 

सरकारले २०७८ सालमा जारी गरेको बालबालिकासम्बन्धी नियमावलीले बालबालिकाको सम्मान, संरक्षण, संबर्द्धन तथा संरक्षणका लागि स्थानीय तहमा बाल अधिकार समिति रहने र एक जना बाल कल्याण अधिकारीको व्यवस्था गरेको छ ।

तर ७ सय ५३ मध्ये ३ सय ५३ स्थानीय तहले बाल कल्याण अधिकारीको व्यवस्थासमेत गर्न सकेका छैनन् । बालबालिकाको हक अधिकार सुनिश्चितताका लागि सरकारले बाल संरक्षण संयन्त्र प्रभावकारी बनाइ बालकोष, पोषण भत्तासँगै लगानी बृद्धि गर्नुपर्ने अधिकारकर्मीको सुझाव छ ।

महिला तथा बालबालिका मन्त्रालयको तथ्यांकअनुसार १५ देखि १९ वर्षका १४ प्रतिशत किशोरीहरुले उमेर नपुगी गर्भधारण गर्ने गरेका छन् भने १ दशमलव ६ प्रतिशत बालबालिकाको बालविवाह हुने गरेको छ । नेपालमा अझै ५ दशमलव ४ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर छन् ।

राष्ट्रसंघ महासभाबाट बाल अधिकारसम्वन्धी महासन्धी पारित गरेको स्मरणमा हरेक वर्ष भदौ २९ मा मनाउने गरिएको हो । 


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।