गेटा मेडिकल कलेजको साढे ६ अर्बको संरचना प्रयोगविहीन

विश्वविद्यालयसम्बन्धी विधेयक छिटो पारित गर्न माग गर्दै स्थानीय फेरि आन्दोलित
भाद्र २६, २०८१ |टेकराज जोशी
गेटा मेडिकल कलेजको साढे ६ अर्बको संरचना प्रयोगविहीन

कैलाली । कैलालीको गेटामा मेडिकल कलेज चलाउने उद्देश्यले संरचना निर्माण गरिए पनि सरकारी बेवास्ताका कारण सञ्चालनमा आउन सकेको छैन । संसद्‍मा विचाराधीन सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित नहुँदा यसको सञ्चालनमा अन्योल छ । अर्बौं रकम खर्चेर संरचना निर्माण समपन्न भइसक्दा पनि अहिले त्यहाँ ५० शैय्यको अस्पताल सञ्चालन गरेर स्थानीयको असन्तुष्टि मत्थर पार्ने प्रयास भएको छ ।

सरकारले २०७३ सालमा गेटामा मेडिकल कलेज सञ्चालन गर्ने भनेर सुरु गरेको यो अस्पतालको संरचना निर्माणमा हालसम्म साढे ६ अर्ब खर्च भइसकेको छ । तर कहिले मेडिकल कलेज त कहिले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भनेर सरकार अलमलिादा पटकपटक आन्दोलनसमेत भयो ।

संघीय सरकारले ०८० असारमा 'न्यूनतम सुविधा'सहितको एक सय शैय्याको अस्पताल सञ्चालन गर्ने नीतिगत निर्णय गरे पनि स्वास्थ्य मन्त्रालयले ५० शैय्याको अस्थायी स्वीकृति प्रदान गर्‍यो । ०८० कात्तिक १ देखि ओपीडी सेवा सुरु गरिएको थियो । गत साउन ३२ देखि अन्तरंग सेवा सुरु गरिए पनि हालसम्म एक जना बिरामी पनि यो अस्पतालमा उपचारका लागि गएका छैनन् । सरकारले यसलाई सहिददशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भनेर तयार पारेको विधेयक राष्ट्रियसभाबाट पारित भएर अहिले प्रतिनिधि सभामा दर्ता भएको छ । तर त्यसलाइ पारित गर्न ढिलाइ भएपछि स्थानीय फेरि आन्दोलित भएका छन् ।

गत आर्थिक वर्षमा यहाँ झन्डै ७० करोड बराबरको मेसिन, औजार तथा उपकरण पनि खरिद भइसकेको छ । स्वास्थ्य मन्त्रालयका अधिकारी भने अहिले मोडालिटी स्पष्ट नभएका कारण अन्यौल भएकाले संसद्‍मा विचाराधीन विधेयक पारित भएपछि मात्रै सञ्चालन सहज हुने बताउँछन् ।

गेटा अस्पतालमा हाल एक सय ४१ जनाको अस्थायी दरबन्दी छ । १० जना विशेषज्ञ चिकित्सक छन् । तीन जना हाडजोर्नीका चिकित्सक र दुई रेडियोलोजिस्ट छन् । यस्तै स्त्रीरोग विशेषज्ञ, फिजिसियन, जनरल सर्जन, एमडीजीपी र एनेस्थेसियन एक-एक जना छन्। थप ५ जना मेडिकल अधिकृत छन् । बिरामी नआएपछि उनीहरूमध्ये अधिकांश दुई घण्टाजति अस्पतालमा हाजिर लगाएर धनगढी फर्किने गरेका छन् ।

स्वास्थय मन्त्रालयले भने उपकरण खरिद भइसकेको र थप विषेशज्ञ चिकित्सक पठाएर प्रदेशवासीलाई गुणस्तरीय सेवा प्रदान गर्ने दाबी गरेको छ । अस्पतालमा हालसम्म आकस्मिक सेवा, फार्मेसी, प्रयोगशाला, अप्रेसन थियटर, आईसीयू स्थापना हुन सकेको छैन। 


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement