धनुषा । मिथिला क्षेत्रमा बसोबास गर्ने महिलाहरुले शक्तिको स्रोत सूर्यको उपासनासहित श्रद्धा र निष्ठापूर्वक आज रविबारी व्रत मनाइरहेका छन् ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधाम लगायतका स्थानहरुमा व्रतालुहरुले आज बिहान पोखरी, सरोबर लगायतका जलासयहरुमा स्नान गरी चोखो भई फलफूल, मिठाई लगायतका परिकारहरु प्रसादको रुपमा सूर्यलाई चढाएर श्रद्धा र निष्ठापूर्वक रविबारी व्रत मनाइरहेका छन् ।
व्रतालुहरुले पूजाआजा र सूर्यलाई अर्घ दिएपछि कथावाचन र श्रवण गरेपछि सखर हालेको खिर र ठेकुवा प्रसादको रुपमा ग्रहण गर्ने चलन छ । चिताएको कुरा प्राप्त हुने, पुत्र र पति दीर्घायु हुने र घरपरिवारमा सुख समृद्धी आउने जनविश्वासको आधारमा मिथिलाका महिलाहरुले यो व्रत बस्ने गर्दछन ।