युक्रेनमा युद्धबन्दी बनिरहेछन् नेपाली, सरकारसँग छैन तथ्यांक

माघ २, २०८१ |कमल पन्थी
युक्रेनमा युद्धबन्दी बनिरहेछन् नेपाली, सरकारसँग छैन तथ्यांक

बर्दिया । रूसी सेनामा भर्ना भई युद्ध क्षेत्रमा खटिने क्रममा युक्रेनी सेनाको नियन्त्रणमा नेपालीहरू पनि परेका छन् । तर, कति नेपाली युक्रेनमा युद्धबन्दी छन्, सरकारलाई थाहा छैन ।

युक्रेनमा युद्धबन्दी अवस्थामा बर्दियाका दुई युवा छन् । परिवारले रिहाइका लागि वातावरण बनाइदिन सरकारसँग अपिल गरेका छन् भने उनीहरूको उद्धारको पहलका लागि परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

बर्दिया राजापुर-१ का विवेक खत्री पढ्ने र कमाउने भन्दै सन् २०२२ अक्टुवर २३ मा रूस जानुभएको हो । अर्थशास्त्रमा स्नातक अध्ययनका लागि जानुभएका विवेक रूसको राजधानी मस्कोस्थित कलेज अफ टेक्नोलोजी एन्ड फाइनान्समा अध्ययन गरिरहेको परिवारलाई थाहा थियो । तर, रूस पुगेको तीन महिनापछि राम्रो आम्दानी देखेर विवेक रूसी सेनामा भर्ना हुनुभयो । त्यसपछि युद्ध क्षेत्रमा खटिनुभएका उहाँलाई युक्रेनी सेनाले युद्धबन्दीका रूपमा नियन्त्रणमा लियो । त्यसपछि उहाँको कुनै खबर आएको छैन ।

आमा ईन्द्रादेवी बिरामी भएका कारण धेरै बोल्न नसक्ने अवस्थामा हुनुहुन्छ । आमाको उपचार गराउँछु भनेर विवेकले रूसबाट भिडिओ कल पनि गर्नुभएको थियो । अहिले छोराको कुनै खबर नआएको भन्दै आमा पिरोलिनुभएको छ । उहाँले छोराको रिहाइका लागि वातावरण बनाइदिन सरकारसँग अपिल गर्नुभएको छ ।

यसैगरी रूसी सेनामा भर्ना हुनुभएका मधुवन नगरपालिका-९ का कृष्णबहादुर घिमिरे क्षेत्री पनि २०८१ असोज १८ यता युक्रेनी सेनाको कब्जामा हुनुहुन्छ । उहाँकी श्रीमती जमुना रिजालले उद्धारका लागि जिल्ला प्रशासन कार्यालय, बर्दियामा निवेदन दिनुभएको छ । उद्धारको पहलका लागि परराष्ट्र मन्त्रालय लगायतसँग समन्वय गरिरहेको स्थानीय प्रशासनले जनाएको छ ।

रूसले आफ्नो सेनामा भर्ना भएका विदेशीहरूको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको सार्वजनिक भएको छ । तर, युक्रेनी सेनाको नियन्त्रणमा कति नेपाली युद्धबन्दीका रूपमा छन्, कुनै तथ्यांक छैन । त्यसैले सरकारले त्यहाँ रहेका नेपालीहरूको चाँडोभन्दा चाँडो उद्धारका लागि कूटनीतिक पहल गर्नु जरुरी छ । 


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement