काठमाडौं । नेपालीको एउटा प्रमुख श्रम गन्तव्य मुलुक युनाइटेड अरब इमिरेट्स यूएईले कानुनी हैसियत प्राप्त गर्न नसकी बसेका आप्रवासी श्रमिकलाई घर फर्किने वा वैध हुने मौका दिएको छ ।
यूएई सरकारले यही सेप्टेम्बरदेखि आउँदो अक्टोबर ३० सम्मका लागि एम्नेष्टी अर्थात् आममाफीको सुविधा दिएको हो । यूएई सरकारले दिएको यस्तो सुविधाबाट १० हजारभन्दा धेरै श्रमिक लाभान्वित हुने यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले जानकारी दिनुभयो । भिजिट भिसामा यूएई पुगेर भिसा अवधिभन्दा बढी बसेका, कम्पनी छाडेर भागेका र यूएईको अध्यागमन नियम उल्लंघन गरेकाहरुले आममाफी पाउने छन् ।
आफमाफीको स्किममा सहभागी हुने श्रमिकलाई जरिवानासमेत लाग्ने छैन । राजदूत क्षेत्रीका अनुसार काम गरिरहेका श्रमिक वैद्य भएर पुन त्यही बस्न पनि सक्ने छन् । घर फर्किने सुविधा पनि हुने छ । जानी-नजानी र अवैध हुन पुगेका नेपालीको सङ्ख्या दूतावासले आकलन गरेभन्दा बढी रहेको वैदेशिक रोजगार व्यवसायीहरूले बताएका छन् ।
यूएईलाई ट्रान्जिट बनाएर युरोपेली मुलुक जान खोज्ने नेपाली युवाको सङ्ख्या धेरै छ । जान नपाएका र भिसा अवधि सकिएपछि धेरै युवा गैरकानुनी रूपमा यूएई मै बस्दै आए पनि कानुनी हैसियत प्राप्त गर्न सकेका छैन । त्यस्तै भिटिज भिसामा गएर उतै बस्नेले पनि यो सुविधा पाउने राजदूत क्षेत्रीले जानकारी दिनुभयो ।
सन् २०१९ मा नेपाल र यूएईबीच भएको श्रम समझदारी नवीकरण भएको छ । नेपालले यूएईसँग उच्चस्तरको श्रम सम्झौता गर्ने गृहकार्य गरिरहेको छ ।