नयाँ संसद भवन बनाउने काम अझै डेढ वर्षमा पनि सकिएला जस्तो छैन : सभामुख घिमिरे

भाद्र २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
नयाँ संसद भवन बनाउने काम अझै डेढ वर्षमा पनि सकिएला जस्तो छैन : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद भवनको काम सकिन अझै डेढ वर्ष लाग्ने देखिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

आगामी चैत्र २० गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौता रहेको भएपनि समयावधि भित्रै सक्नेगरी काम हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । बिहीबार निर्माणाधीन नयाँ संसद भवनको निरीक्षण अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले सात महिनाभित्रमा बाहिरको भौतिक पूर्वाधारसम्म बनाउनसके पनि भित्रका फिनिसिङका कुराहरु सम्पन्न गर्न समयावधि पछिका ७ महिना जति लाग्ने देखिएको उल्लेख गर्नुभयो ।

सभामुख घिमिरेले अझै डेढ वर्ष भन्दा अगाडि नयाँ संसद भवनबाट काम गर्न सकिने अवस्था नरहेको भन्दै छिटो काम सम्पन्न गर्न आग्रह गर्नुभयो । निर्माणका लागि कुनै जटिलताहरु भए सरकारसँग छलफल गरी समाधान गर्न पनि उहाँले आग्रह गर्नुभयो । ‘सात महिना भित्रमा यसको बाहिरको भौतिक पूर्वाधारसम्म बनाउला तर यसका भित्रका कुराहरु फिनिसिङका कुराहरु सबै कुराहरुले अरु पाँचदेखि सात महिना लाग्ने देखिन्छ,’ उहाँले भन्नुभयो, ‘अझै डेढ वर्ष भन्दा अगाडि यहाँ कार्यक्रम गर्न नसक्ने देखिन्छ । कसरी छिटो गर्न सकिन्छ, यसमा सबैको साथ र सहयोग खासगरी उत्साहजनक वातावरण बनाएर जानुपर्छ ।’

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले असार मसान्तसम्म भौतिक प्रगति मूल्यांकन ८१ प्रतिशत रहेको बताउनु भयो । उहाँले भवनहरुमा छानाको काम सबै सम्पन्न भइसकेको पनि बताउनु भयो । 

उहाँले इलेक्ट्रिफिकेशन स्यानेटरीको कामहरु अघि बढिरहेको जानकारी दिनुभयो । १९ प्रतिशत बाँकी निर्माण कार्य चैत्र २० गतेभित्र सम्पन्न गर्न निर्माण व्यवसायीसँग निर्धारित कार्यतालिकासमेत माग गरेर अघि बढेको जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement