प्रस्तावित १७ मध्ये १३ राजदूतको सुनुवाइ सकियो

बाँकी ४ जना प्रस्तावित राजदूतको सुनुवाइ २४ गते गर्ने तयारी
भाद्र १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रस्तावित १७ मध्ये १३ राजदूतको सुनुवाइ सकियो

काठमाडौं । रुस, दक्षिण कोरिया, साउदी अरब र दक्षिण अफ्रिकाका प्रस्तावित राजदूतले रुसी सेनामा गएका नेपाली फिर्तादेखि श्रम, लगानी र रोजगारीको कोटा बढाउनेसम्मका प्रतिबद्धता जनाएका छन् । संसदीय सुनुवाइ समितिले आज प्रस्तावित चार जनाको सुनुवाइ गरेको हो ।

१७ देशमा प्रस्ताव गरिएका मध्ये आजको सुनुवाइमा रुसी महासंघका लागि प्रस्तावित राजदुत जङ्गबहादुर चौहानले रुसी सेनामा भर्ना भएका नेपाली युवालाई फिर्ता गर्न पहल गर्ने बताउनुभएको छ । रुसी सेनामा भर्ती भएर ज्यान गुमाएका नेपालीको शव फिर्ता, परिवारलाई क्षतिपूर्तिदेखि रुसको आर्थिक सहयोग, व्यापार तथा लगानी प्रवर्द्धन लगायतका विषय प्राथमिकता भएको उहाँको भनाइ छ ।

साउदी अरेबियाका लागि प्रस्तावित नरेशविक्रम ढकालले साउदीमा रहेका ४ लाखभन्दा धेरै नेपाली श्रमिकको हित, पर्यटन प्रवर्धन र नेपालमा लगानी भित्र्याउने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । दक्षिण कोरियाका लागि प्रस्तावित शिवमाया तुम्बाहाम्फेले उच्चस्तरीय भ्रमण, लगानी भित्र्याउने र नेपाली वस्तुको निर्यात प्राथमिकता भएको कार्ययोजना प्रस्तुत गर्नुभएको छ ।

दक्षिण अफ्रिकाका प्रस्तावित राजदूत कपिलमान श्रेष्ठले मानवअधिकार आयोगको सदस्य हुँदैमा आफूलाई राजदूत हुन नरोक्ने दाबी गर्दै संविधानले रोकेको भए प्रमाणित गर्न समितिलाई चुनौती दिनुभयो ।

समितिले १७ मध्ये १३ जनाको सुनुवाइ सकेको छ । बाँकी ४ जना प्रस्तावित राजदूतको सुनुवाइ २४ गते गर्ने तयारी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement