बिजुलीको महशुल नतिरेको भन्दै प्राधिकरणले काट्‍यो विश्व सम्पदास्थल चाँगुनारायण मन्दिर र भक्तपुर तलेजु भवानीको लाइन

भाद्र १८, २०८१ |सुन्दर शिल्पकार
बिजुलीको महशुल नतिरेको भन्दै प्राधिकरणले काट्‍यो विश्व सम्पदास्थल चाँगुनारायण मन्दिर र भक्तपुर तलेजु भवानीको लाइन

भक्तपुर । नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रले विद्युत बक्यौता नतिरेको भन्दै विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्र स्थित तलेजु भवानी मन्दिर र चाँगुनारायण मन्दिरको विद्युतको लाइन काटेको छ । 

तलेजु मन्दिरको बक्यौता २३ लाख १८ हजार ८ सय ८५ रुपैयाँ र चाँगुनारायण मन्दिरको बक्यौता ३५ लाख ७९ हजार १ सय १९ रुपैयाँ बाँकी रहेको भन्दै प्राधिकरणले विद्युत् लाइन काटेको हो ।

तलेजु भवानीको मन्दिरमा २०६० साल कार्तिक १४ गते मिटर जडान गरिएको थियो । मिटर जडान गरेदेखि नै विद्युत् महशुल नतिरेको विद्युत् प्राधिकरण भक्तपुर शाखाका प्रमुख रामप्रमोद साहले बताउनु भयो । 

तलेजु मन्दिरको सुरक्षार्थ मन्दिर परिसरमै खटिएका नेपाली सेनाले समेत प्रयोग गरेको विद्युतको बक्यौता तिर्न कसैले जिम्मेवारी नलिएको प्राधिकरण भक्तपुर वितरण केन्द्रका प्रमुख राम प्रमोद साहको भनाइ छ । ‘तलेजु मन्दिरको बक्यौता चुक्ता गर्न मन्दिर व्यवस्थापन समिति, भक्तपुर नगरपालिका, गुठी संस्थान र पुरातत्व विभागमा पटक पटक ताकेता गर्यौ तर कसैले जिम्मा लिन चाहेनन्,’ उहाँले भन्नुभयो ।

तलेजु मन्दिरको मात्रै मासिक एक लाख रुपैयाँ विद्युत महशुल उठ्ने गरेको प्राधिकरणको दाबी छ । यस्तै विश्वसम्पदामा सूचीकृत चाँगुनारायण मन्दिरको समेत बक्यौता तिर्न चाँगुनारायण नगरपालिका र मन्दिरको मुख्य पुजारीलाई पटक पटक पत्राचार गरेपनि जिम्मेवारी नलिएपछि आजै लाइन काटिएको प्राधिकरणले जनाएको छ । 

चाँगुनाराण मन्दिरको आम्दानी नगरपालिकाले लिने भएपछि विद्युत महशुल पनि नगरपालिकाले नै तिर्नुपर्ने भन्दै मन्दिरका पुजारी समेत पन्छिएकाले लाइन काट्नुपर्ने बाध्यता भएको प्राधिकरणले जनाएको छ ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement