बाबुको मुख हेर्ने दिन उत्सवकै रूपमा मनाउन थालिएपछि ज्येष्ठ नागरिकहरू दङ्ग

भाद्र १७, २०८१ |महाप्रसाद खतिवडा
बाबुको मुख हेर्ने दिन उत्सवकै रूपमा मनाउन थालिएपछि ज्येष्ठ नागरिकहरू दङ्ग

विराटनगर । पहिले-पहिले कुशे औँसीको दिनमा घरमा कुश भित्र्याउने काम प्रमुख रूपमा गरिन्थ्यो । तर अहिले आएर यो दिनको ख्याति बाबुको मुख हेर्ने दिनको रूपमा बढेको छ । उत्सवकै रूपमा बाबुको मुख हेर्ने दिन मनाउन थालिएपछि ज्येष्ठ नागरिकहरू पनि दङ्ग छन् । 

१९९२ साल असोज चार गते खोटाङको मार्सेमा जन्मिनुभएका छविलाल रेग्मीलाई बाबुको मुख हेरेको सम्झना छैन । पहिले कुशे औँसीका दिन पुरोहितले घरमा कुश लिएर आउने र उनीहरूलाई टीका लगाएर दक्षिणा दिने चलन भएको उहाँ बताउनुहुन्छ । धेरै पछि आफू हजुरबा बनेपछि मात्रै कुशे औँसी त बाबुको मुख हेर्ने दिन पनि रहेछ भनेर थाहा पाएको उहाँ बताउनुहुन्छ ।

पाँच छोरी र तीन छोराका पिता छविलालका दुई छोरा र तीन छोरीले आज प्रत्यक्ष भेटेरै मुख हेरे भने काठमाडौं बस्ने एक छोरा र दुई छोरीले भने भर्चुअलरुपमा मुख हेरे । त्यसतै पितृहरूको उद्धार गर्ने दिनमा आफ्ना सन्तान भेट्न आएकोमा कास्की ९२ वर्षीय हरिराज पौडेल पनि हर्षित हुनुहुन्छ ।

अचेल कुशे औँसीलाई बाबुको मुख हेर्ने उत्सवकै रूपमा मनाउन थालिएको छ । ७८ वर्षीय टंकप्रसाद पौडेल पनि बाबुको सम्झना मेट्न दाजु हरिराज पौडेलको मुख हेर्न जानुभयो । बाबुको मुख हेर्ने दिनको अवसर पारेर धनकुटा पात्लेका बोधप्रसाद वाग्लेका पाँच बहिनी छोरी माइतीघर पुगे । ८२ वर्षीय वाग्ले टाढिएका दरसन्तानको सामीप्य पाउँदा दंग हुनुहुन्छ ।

सहरीकरण र विश्वव्यापीकरण सँगसँगै टाढिएर देश विदेश पुगेका सन्तानले कुशे औँसीको दिनलाई बाबुको मुख हेर्ने उत्सवका रूपमा मनाउन थालेपछि ज्येष्ठ नागरिकहरू दङ्ग छन् ।


Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।