स्थानीय तहमा किन टिक्न सक्दैनन् प्रशासकीय अधिकृत ?

भाद्र १४, २०८१ |पोषनाथ अधिकारी
स्थानीय तहमा किन टिक्न सक्दैनन् प्रशासकीय अधिकृत ?

धादिङ । कतै राजनीतिक निकटता र स्वार्थ नमिल्दा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन् भने कतिपय स्थानीय तहमा कर्मचारी नै जान मान्दैनन् । अहिले पनि कैयौं स्थानीय तहमा कर्मचारी अभाव छ । जनप्रतिनिधिले आफू अनुकूल प्रयोग गर्न खोज्दा भएका कर्मचारीले पनि राम्ररी काम गरेका छैनन् । कतिपय स्थानमा कर्मचारीले जनप्रतिनिधिलाई नटेर्दा समस्या छ ।

स्थानीय तहले स्थापनादेखि नै झल्दै आएको प्रमुख प्रशासकीय अधिकृतको अभाव दोस्रोपटक जनप्रतिनिधि निर्वाचित भएर आइसक्दा पनि उस्तै छ । अहिले पनि २४५ स्थानीय तह निमित्तको भरमा छन् । भएका ठाउँमा पनि राजनीतिक निकटता र निजी स्वार्थका कारण आफूअनुकूलको प्रशासकीय अधिकृत ल्याउने र त्यसमा हुने विवादले सेवा प्रवाहसमेत प्रभावित हुँदैआएको छ ।

आफूअनुकूल काम नगरेपछि कर्मचारी फेर्ने नेतृत्वको प्रवृत्तिले स्थानीय तहमा प्रशासकीय अधिकृत टिक्न सक्दैनन् । त्यसो त कतिपय कर्मचारी चाहेर पनि स्थानीय तह जान पाएका छैनन किनभने कतिपय स्थानीय तहले प्रमुख प्रशासकीय नआओस् भन्ने चाहेको देखियो । छानीछानी लाने वा निमित्तबाटै काम चलाउने प्रवृत्ति बढेको छ ।

कतै जनप्रतिनिधि बीचको बेमेल कतै जनप्रतिनिधिलाई बेवास्ता गरी कर्मचारीले आफ्नो तरीकाले काम गर्दा यसको प्रभाव स्थानीय तहमा देखिएको छ । प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार, प्रशासनिक बाँडफाँट, विकास निर्माण र सेवा प्रवाह नै प्रभावित हुने गरेको छ । २०८० वैशाखमा स्थानीय तहको दोस्रो निर्वाचन भएयता धनुकटाको छथरजोरपाटी गाउँपालिकामा ४ जना प्रमुख प्रशासकीय अधिकृत हेरफेर भएको उदाहरणले यसलाई पुष्टि गर्छ ।

पालिकामा प्रमुख प्रशासकीय अधिकृत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाउने व्यवस्था छ । खटाएको ठाउँमा गएर काम नगरे या मन्त्रालयले पठाएको प्रमुख प्रशासकीयलाई पालिकाले लिँदैन भने कारबाही गर्ने र रोस्टर बनाएर व्यवस्थापन गर्न मन्त्रालय हिचकिचाउँदा यस्तो समस्या हुने गरेको जनप्रतिनिधिको अनुभव छ ।

संघीयता कार्यान्वयनपछि स्थानीय तहले जनतालाई घरदैलोबाटै सेवा दिने अपेक्षा आम नागरिकको थियो । तर कैयौं पालिकामा अहिले पनि कतै जनप्रतिनिधि र कर्मचारी विवादले कतै आफू नै अनुकूलको मात्र काम गर्दा सारा काम रोकिएका छन । जनप्रतिनिधिले आफू अनुकूलका कर्मचारी खोज्ने र कर्मचारीले निजी स्वार्थ हेर्ने प्रवृतिले बेथिति र भ्रष्टाचार मौलाउन सघाएको छ । कतिपय ठाउँमा मिलमतोमै बिसँगतिले संस्थागत रुप लिएको छ ।

यो पनि हेर्नुहोस्...

२४५ स्थानीय तहमा अहिले पनि छैनन् प्रमुख प्रशासकीय अधिकृत


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement