जाजरकोट भूकम्पको १० महिनासम्म पनि प्रभावितले पाएनन् अस्थायी घर बनाउने पहिलो किस्ता अनुदान

जाडोमा खुला चौरमा रात बिताएका पीडित बर्खे झरीमा पहिरोको चपेटामा
भाद्र ९, २०८१ |देव राना
जाजरकोट भूकम्पको १० महिनासम्म पनि प्रभावितले पाएनन् अस्थायी घर बनाउने पहिलो किस्ता अनुदान

सुर्खेत । जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर भूकम्प गएको करिब १० महिना हुन थाल्यो । तर भूकम्प प्रभावित बझाङ, बाजुरासहित जाजरकोट, रुकुमपश्चिम र सल्यान लगायतका जिल्लामा पुनर्निर्माणको काम अगाडि बढ्न सकेको छैन । सरकारले पुनर्निर्माण सम्बन्धी कार्यविधि तयार पार्न नसक्दा बर्खे झरीमा भूकम्प पीडितको बिचल्ली भएको छ । पीडितले पुनर्लाभ नै पाउने गरी पुनर्निर्माण सुरु गर्ने रटान लगाउँदै आएको सरकार भने अस्थायी टहरामै बाढी पहिरोका कारण भूकम्प पीडितको मृत्यु हुँदासम्म गम्भीर बन्न सकेको छैन । 

जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर २  स्थित माझगाउँमा शनिवार राति पहिरोले अस्थायी टहरा पुरिँदा तीन जना भूकम्पपीडितको मृत्यु भएको छ । पहिरोमा परि ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीय मनीषा परियार र २ वर्षीय छोरा शिभम् परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि पनि एक जना भूकम्प पीडितको पहिरोमा परेर मृत्यु भइसकेको छ । मनसुन अझै जारी छ । बर्खे झरीमा पीडितका कुनै पनि टहरा सुरक्षित छैनन् । भूकम्पमा मुस्किलले बाँचेका पीडितमध्ये जाजरकोटमा मात्र ४ जनाको बाढी पहिरोले टहरा भत्किँदा मृत्यु भइसकेको छ । तर भूकम्प पीडितको कष्टकर पीडाप्रति तीन तहका सरकार संवेदनशील देखिँदैनन् ।

जाजरकोटको भेरी नगरपालिका ३ का सीता सुनारको घर गत कार्तिक १७ गते गएको भूकम्पले भत्काइदियो । घर भत्किएपछि परिवारसहित केही समय त्रिपालमा दिन कटाउनु भएकी उहाँ अहिले अस्थायी टहरोमा दैनिकी बिताइरहनु भएको छ । दुई कोठे अस्थायी टहरो साँघुरो र असुरक्षित छ । नानकला बुढाको परिवारको दैनिकी पनि भूकम्पपछि अस्थायी टहरोमा नै सीमित छ । बाढी र पहिरोबाट यी टहरा सुरक्षित छैनन् । भूकम्पले भासिएका धेरै बस्तीहरू बाढी र पहिरोको उच्च जोखिम छन् । तर सुरक्षित स्थान नपाउँदा पीडितहरू जोखिम मोलेरै भए पनि त्रासपूर्ण वातावरणमा बस्न बाध्य छन् । 

भूकम्प पीडितको राहत र उद्धारमा सबैभन्दा बढी सक्रिय भएका स्थानीय तहहरूले आफूसँग आर्थिक स्रोत र सामर्थ्य नभएकै कारण पुनर्निर्माणको काम अगाडि बढाउन नसकेको बताउँछन् । भूकम्प पीडितको आवास निर्माणका लागि बजेट भाषणमा बोलिए पनि कार्यान्वयनका लागि स्थानीय तहमा बजेट नपठाएको, पीडितलाई दोस्रो किस्ताका लागि बजेट नपठाएको र पुनर्निर्माण सम्बन्धी कार्यविधि नबनाएको भन्दै स्थानीय तहले संघीय सरकारकै कारण पुनर्निर्माणको काम अगाडि बढ्न नसकेको बताउँछन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने बर्खा नसकिँदै पुनर्लाभ र पुनर्स्थापना योजनासहितको भूकम्प पीडितको पुनर्निर्माण सुरु हुने दाबी गरेको छ । पुनर्निर्माणका लागि प्राविधिकहरू हायर गर्ने, प्रभावित क्षेत्रमा कार्यालय स्थापना गरेर महिना दिनभित्रै पुनर्निर्माणको थालनी हुने प्राधिकरणको भनाइ छ । 

गत कार्तिक १७ गते जाजरकोटको केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोटमा मात्रै ४८ हजारभन्दा बढी  घरधुरी प्रभावित भएका थिए । पीडितमध्ये ४० हजार ७ सय १७ जनालाई अस्थायी टहरो बनाउन सरकारले पहिलो किस्ता बाफतको २५ हजारका दरले १ अर्ब १७ करोड ९ लाख २५ हजार रकम बुझिसकेका छन् । अस्थायी आवास बनाउन सरकारबाट रकम लिएकामध्ये ३२ हजार ७ सय ४६ जनाले मात्रै बनाएका छन् । तर दोस्रो किस्ताका लागि भने २६ हजार ५ सय ८१ जनामात्र समावेश भएका छन् । 


Image

देव राना

राना कान्तिपुर टेलिभिजन सुर्खेतका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement