गौरा पर्व आजदेखि विधिवत् रूपमा सुरु; पहिलो दिन बिरुडा पञ्चमी

भाद्र ८, २०८१ |हरिश्चन्द्र बाग
गौरा पर्व आजदेखि विधिवत् रूपमा सुरु; पहिलो दिन बिरुडा पञ्चमी

कञ्चनपुर । सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ । गौरा पर्वको पहिलो दिन आज बिरुडा पञ्चमी पर्व मनाइँदै छ । 

पुत्रदा एकादशीको व्रत बसेका विवाहित महिलाहरू गौराको पूजा गर्न योग्य मानिन्छन् । आज पञ्चमीदेखि विधिवत् रूपमा सुरु भएको गौरा पर्वको पहिलो दिन तामाको भाँडोमा गाईको गोबर, दुबो, अक्षताले शृङ्गारी त्यसभित्र बिरुडाका रूपमा मास, कलौँ, गहत, गहुँ र गुरुस गरी पाँच प्रकारका अन्न भिजाएर राख्ने  गरिन्छ । पञ्च बिरुडालाई गौरादेवीको प्रसादका रूपमा लिइन्छ । गौरादेवीको पूजाआजामा पनि बिरुडा नै प्रयोग गरिन्छ ।

यसरी भिजाइएका बिरुडालाई षष्ठीका दिन पखाल्ने प्रचलन रहेको छ । सप्तमीका दिन साउँ घाँसको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई गौरा घर वा मन्दिरमा लगेर गौरा महेश्वरको पूजा गरिन्छ भने त्यसैक्रममा महिलाहरूले लगाउने यज्ञोपवीत दुब्धागो र नयाँ लुगा कपडामा अवशेष गरिन्छ । यस वर्ष तिथिमा भएको घटबढले भोलि आइतबार नै सप्तमी परेकोले भोलि साँझ गौरा महेश्वरको पूजा गरिने छ ।

अष्टमीका दिन गौरालाई गौरा घर वा मन्दिरको आँगनमा ल्याएर गौरा महेश्वरको वर्णन गरिने अठेवाली गीत, सगुन आदि गाएर गौरा खेलाउने गरिन्छ । त्यसैबेला व्रतालु महिलाहरूले परिवारजन र आफन्तजनलाई दुबो र बिरुडाको प्रसाद लगाइदिने चलन रहेको छ । अष्टमीको दिनदेखि नै ठाउँठाउँमा देउडा खेल समेत खेल्ने गरिन्छ ।

प्राचीनकालदेखि नै पार्वतीलाई गौरा देवीका रूपमा पूजाअर्चना गर्ने गरिन्छ । यो पर्व अगस्ती ताराको उदयका आधारमा कहिले भाद्र कृष्ण पक्षमा त कहिले भाद्र शुक्ल पक्षमा पर्ने गर्दछ । भाद्र कृष्ण पक्षमा परेको गौरालाई ‘अन्यारी गौरा’ भनिन्छ भने भाद्र शुक्ल पक्षमा परेको गौरालाई ‘उज्याली गौरा’ भन्ने गरिन्छ ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।