काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा प्रहार गरिएको नयाँ हाइपरसोनिक क्षेप्यास्त्रको प्रयोग जारी राख्ने चेतावनी दिनुभएको छ ।
युक्रेनमा नयाँ बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि पुनः सम्बोधन गर्दै पुटिनले युक्रेनमा नयाँ हतियारको प्रयोगलाई जारी राख्ने चेतावनी दिनुभएको हो । उहाँले रूससँग शक्तिशाली नयाँ क्षेप्यास्त्रहरूको भण्डार रहेको र ती क्षेप्यास्त्र तयारी अवस्थामा रहेको बताउनुभएको छ ।
उहाँले यसअघि युक्रेनमा परीक्षण प्रहार गरिएको हेजल ट्री नामक हाइपर सोनिक क्षेप्यास्त्रको क्रमिक उत्पादन सुरु गर्ने जानकारी समेत दिनुभएको छ । रुसले परीक्षण गरेको नयाँ क्षेप्यास्त्रले साढे दुईदेखि साढे तीन किलोमिटर प्रतिसेकेन्डको गतिमा आफ्नो लक्ष्यलाई निशाना बनाउनसक्ने बताइएको छ ।
युक्रेनले हालै लामो दुरीको मार हान्ने क्षेप्यास्त्र रूसमाथि प्रहार गरेपछि युद्ध थप चर्किएको हो । युक्रेनी आक्रमणको जवाफमा हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको पुटिनको भनाइ छ । यता, युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले अर्को देशमा आतंकको उद्देश्यले नयाँ हतियार परीक्षण गर्नु ‘अन्तर्राष्ट्रिय अपराध’ रहेको दाबी गर्दै रूसलाई युद्ध विस्तार गर्नबाट रोक्न विश्वलाई आह्वान गर्नुभएको छ ।
युद्धले वैश्विक रूप लिने खतरापछि बेलायती प्रधानमन्त्री केइर स्टार्मरले पुटिनले आक्रामक व्यवहार त्यागेमा आजै युद्ध अन्त्य हुन सक्ने बताउनुभएको छ ।