जहाँ अभिभावक पनि कापीकलम बाेकेर विद्यालय जान्छन्

भाद्र ७, २०८१ |विप्लव भट्टराई
जहाँ अभिभावक पनि कापीकलम बाेकेर विद्यालय जान्छन्
इलाम । विद्यार्थीहरु पढ्न र शिक्षकहरु पढाउन नियमित रुपमा विद्यालय जान्छन् । तर, इलामको रोङ गाउँपालिकामा शिक्षक, विद्यार्थी मात्र होइन, अभिभावक पनि कापी र कलम बोकर विद्यालय जान्छन् । शिक्षाको गुणस्तर सुधारका लागि गाउँपालिकाले अभिभावक पनि महिनामा एक पटक विद्यालय जानै पर्ने व्यवस्था लागू गरेको हो ।

 

इलामको रोङ गाउँपालिकाले अभिभावकलाई महिनामा एक पटक विद्यालय जानै पर्ने नियम बनाएको छ । जसका कारण अभिभावकलाई विद्यार्थीका हरेक पक्षमा कसरी ख्याल राख्न सकिन्छ भन्ने धारणा बनाउन सहज भएको मात्र छैन, विद्यार्थीकोे सिकाईस्तर बढाउनदेखि विकृति विसंगतिबाट जोगाउनसम्म जिम्मेवार पनि बनाएको छ । पालिकाका ३२ विद्यालयमा अध्ययनरत २ हजार ४ सय विद्यार्थीका करिव १ हजार ३ सय अभिभावक यस अभियानमा सहभागी भईसकेका छन् ।

 

शिक्षा सुधारमा शिक्षकमात्र जिम्मेवार भए पुग्छ भन्ने सोचाईलाई प्रमाणित गर्न इलामको दक्षिणपूर्वी रोङ गाउँपालिका सफल देखिएको छ । पालिकाले योजना नै बनाएर कार्यान्वयनमा ल्याएको यो कार्यक्रम देशभरकै पालिकाका लागि अनुकरणीय बन्दै गएको छ ।

 

पालिकाले दक्ष सहजकर्ताको खोजी गरी उनीहरुमार्फत् हरेक अभिभावकलाई महिनामा एक पटक पढाउने व्यवस्था मिलाएको छ ।

 

अभिभावक विद्यालय आउने दिन विद्यार्थीलाई भने बिदा दिइन्छ । अनि घरको काम गर्न सक्ने विद्यार्थी अभिभावकले गर्ने नियमित काम गर्छन् । विद्यार्थीलाई त्यसदिन घरको काम लगाउँदा व्यावहारिक ज्ञान पाउँछन् भन्ने बुझाइ पालिकाको छ ।

 

यसअघि नै विद्यार्थीका लागि बस खरिद गरेर सेवा दिदै आएको रोङ गाउापालिकाले उच्च शिक्षा अध्ययन गर्न सहज होस् भनेर दैनिक एक रुपैयाँ बचत कार्यक्रम पनि संचालन गरिरहेको छ । लगानी अनुसार विद्यार्थीको आर्कषण र गुणस्तर दुवै खस्केको अवस्थामा पालिकाले ल्याएको सुधारका यस्ता कार्यक्रम प्रभावकारी देखिँदै गएका छन् । गुणस्तरीय सिकाईकालागि यो पलिकाले कार्यान्वयनमा ल्याएको कार्यक्रम अन्यत्र पनि पनि प्रभावकारी हुन सक्छ ।


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement