सिन्धुपाल्चोकको तिपेनीमा सुक्खा पहिरोले इन्द्रावती नदी थुनिने खतरा, ३५ घर जोखिममा

भाद्र ५, २०८१ |कमला पाख्रिन
सिन्धुपाल्चोकको तिपेनीमा सुक्खा पहिरोले इन्द्रावती नदी थुनिने खतरा, ३५ घर जोखिममा

सिन्धुपाल्चोक । पाँचपोखरी गाउँपालिकाको तिपेनी बस्ती सुक्खा पहिरोको जोखिममा छ । बाँसखर्कको पाखोभीरमा पाँच दिनदेखि झरिरहेको पहिरोले इन्द्रावती खोला आधा जसो थुनिएको छ । यसले तिपेनी बजारका करिब ३५ घरधुरीसहित पाँचपोखरी प्राथमिक अस्पताल आसपासका केही संरचना जोखिममा परेका छन् ।

सिन्धुपाल्चोकको तीपेनीमा इन्द्रावती खोलाको बहाव नै अबरुद्ध हुने गरी पाँच दिनदेखि निरन्तर सुक्खा पहिरो झरिरहेको हो । माथिल्लो भागमा रहेको पाखोभीरबाट ठूल-ठूला ढुंगा र माटोसहित पहिरो खस्दा स्थानीय त्रासमा छन् ।

तिपेनीका लिलाबहादुर दनुवार भन्नुहुन्छ,'सुख्खा पहिरो यसैगरै झरिरह्यो भने इन्दावती कतिबेला थुनिन्छ भन्न सकिँदैन ।'

ठूलो पहिलो एकैपटक गएमा इन्द्रावती नदी थुनिन सक्ने भएकाले स्थानीय त्रसित भएका हुन् । नदी पूर्णरुपमा थुनिएमा तिपेनी बजार, खाल्टे बस्ती र मेलम्ची बजार उच्च जोखिममा पर्नसक्ने अवस्था छ । अहिले निरन्तर झरिरहेको पहिरो पन्छाउन सुरक्षाकर्मीलाई कठिन भइरहेको छ । 

पाँच पोखरी गाउँपालिकाका अध्यक्ष टासी लामा सेनाको सहयोगमा ठूलो विस्फोट गराएर थुनिएको खोला खोल्नुपर्ने बताउनु हुन्छ ।

पहिरोले जोखिम बढाएपछि यहाँका बासिन्दालाई नजिकैको विद्यालयमा सर्ने तयारी गाउँपालिकाको छ । तर, अहिलेसम्म त्यसको टुंगो भने लागेको छैन ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement