काठमाडौं । अहिले देशमा विभिन्न स्थानमा हैजा सङ्क्रमण देखिइरहेको छ । एक महिना अवधिमा काठमाडौं, ललितपुर, कैलाली र प्युठानमा गरी ५० जनामा सङ्क्रमण देखिएको छ । चिकित्सकहरूका अनुसार दूषित पानीका कारण हैजा सङ्क्रमण हुने गरे पनि प्रभावकारी रूपमा अनुगमन हुन सकेको छैन ।
अहिले सबैभन्दा बढी ललितपुरमा ३८ जनामा हैजा सङ्क्रमण देखिएको छ । त्यसैगरी कैलालीमा ८ तथा प्युठान र काठमाडौंमा २-२ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । चिकित्सकहरूका अनुसार जारको पानीबाट हैजा सङ्क्रमणको बढी जोखिम देखिने गरे पनि त्यसको गुणस्तर र स्वच्छताबारेमा भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रभावकारी ढंगले अनुगमन गर्न सकेको छैन । यता खानेपानी मन्त्रालयले भने ७ वटै प्रदेशमा खानेपानी परीक्षण गर्न मोवाइल भ्यान नै परिचालन गरेको जनाएको छ। त्यसबाहेक फुटेका पाइपहरू पनि मर्मत गरिरहेको मन्त्रालयको दाबी छ ।
चिकित्सकहरूले भने वर्षायाम भएकाले खाना पकाउन तथा पिउन उमालेको, क्लोरीन हालेको तथा फिल्टर गरेको पानी मात्र प्रयोग गर्न सुझाव दिएका छन् । नेपालमा बर्सेनि हैजाको सङ्क्रमण देखिने गरे पनि नागरिक भने स्वच्छ खानेपानीको पहुँचबाट सधैँ वञ्चित रहने गरेका छन् ।