काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले सहकारी ठगीमा कारागारमा रहेका ३ जनालाई बोलाएर बयान लिएको छ ।
समितिले आज सिभिल सेभिङ एन्ड क्रेडिट सहकारीका संस्थापक अध्यक्ष इच्छाराज तामाङ, कान्तिपुर सेभिङ एन्ड क्रेडिटका अध्यक्ष हिमालयविक्रम मल्ल र आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था सहकारीका अध्यक्ष केबी उप्रेतीसँग बयान लिएको हो ।
बयानका क्रममा तीनै जनाले रकम फिर्ताका लागि समितिसँग १ देखि ३ वर्षसम्मको समय मागेका छन् । सिभिल सहकारीका संस्थापक अध्यक्ष तामाङले सिभिल बिजनेस कम्प्लेक्समा ७५ प्रतिशत लगानी सिभिल सहकारीको रहेको र यसको भाडा मासिक ४ करोडभन्दा बढी आउने भए पनि त्यो सहकारीमा नआउने गरेको जानकारी दिएका छन् । उनले रकम फिर्ताका लागि १ देखि ३ वर्षसम्मको समय माग गरेको समितिले जनाएको छ ।
कान्तिपुर सेभिङका अध्यक्ष मल्लले १० अर्बको सम्पत्ति रहेको र तिर्नुपर्ने रकम ८ अर्ब हाराहारी मात्रै रहेको बताएका छन् । केही समय दिएमा रकम फिर्ता गर्ने बाचा उनले समितिसमक्ष गरेका छन् । त्यसैगरी आइडियल सहकारीका उप्रेतीले पनि समिति समक्ष बचत फिर्ताको योजना बताएका छन् । समितिले सुमेरु सहकारीमा नयाँ सदस्य बनेर भित्रिएका राजबहादुर सिंहसँग पनि बयान लिएको छ ।
उनले समितिसमक्ष सुरुमा आफ्नो सम्पत्तिबाट बचत रकम फिर्ता गरेर विश्वासमा ल्याउने र सहकारी सञ्चालन गर्ने योजना बताएका छन् । साथै दशैंअघि नै बचत रकम फिर्ता गर्न सुरु गर्ने उनको भनाइ छ।