सुनसरी । धरानमा खानेपानीको शुल्क र महसुल बढाइएपछि आन्दोलनरत विभिन्न १० राजनीतिक दल र नगरप्रमुख हर्क साम्पाङबीच तीन बुँदे सहमति भएको छ ।
तीन सातादेखि चरणबद्ध आन्दोलनमा रहेका राजनीतिक दल र नगरप्रमुख साम्पाङबीच आज भएको ६ घण्टा लामो वार्ता सफल भएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरिएका छन् । सहमति बारे सोमबार सर्वदलीय बैठक बसेर पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिने उनीहरूले बताएका छन् ।
वार्तामा खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई फिर्ता लिने, खानेपानी बोर्डको पूर्णता बारे उच्च अदालतको फैसला मान्ने र सात दिन भित्र बोर्डको हिसाब सार्वजनिक गर्ने सहमति भएको छ । आइतबार दिउँसो साढे २ बजेदेखि सुरु भएको वार्ता रातिसम्म पनि सहमति नहुने संकेत देखिएपछि उपमहानगर कार्यालय बाहिर धर्नामा बसेका उपभोक्ता तथा राजनीतिक दलका कार्यकर्ताहरूले वार्ता टोलीलाई भित्रै थुन्ने तयारी गरेका थिए । त्यसपछि दबाबमा परेका वार्ताकर्ताहरू सहमति गर्न बाध्य भएका हुन् ।
वार्तामा खानेपानी व्यवस्थापन बोर्ड अध्यक्ष तथा नगरप्रमुख हर्क साम्पाङ, उपप्रमुख अइन्द्रविक्रम बेघा, वडा नम्बर १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई, आन्दोलनरत दलहरूबाट नेपाली कांग्रेसका श्याम पोखरेल, नेकपा एमालेका हर्कजंग एभेङ, नेकपा माओवादीका चोत्लुङ, जसपाका सुमन चेम्जोङ, नेकपा एकीकृत समाजवादीका रेवती रमण राई, रास्वपाका ठाकुरबहादुर कार्की थिए । यस्तै दलहरूबाट वार्तामा नागरिक उन्मुक्ति पार्टीका अमर इजम, संघीय लिम्बुवानका मोहनकुमार तिगेला, राष्ट्रिय साझा पार्टीका भूपी कोयु पनि सहभागी थिए ।
शुल्क र महसुल बढाइएपछि विभिन्न १० राजनीतिक दलले चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए । साउन ११ गते धरानमा क्रियाशील रहेका राजनैतिक दलले खानेपानीको शुल्क र महसुल पुरानै कायम गर्न माग राख्दै धरान खानेपानी व्यवस्थापन बोर्डलाई ७२ घण्टे अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका थिए । अल्टिमेटम दिँदा पनि महसुल नघटाएपछि राजनैतिक दलहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए ।
खानेपानीको महसुलमा ९ हजार ९ सय प्रतिशत सम्म वृद्धि गरेको गरेपछि धरानका राजनीतिक दलहरू आन्दोलित बनेका उनीहरूले विभिन्न सरोकारवाला सङ्घसंस्थाहरूसँग अन्तरक्रिया, वडा कार्यालयहरूमा ध्यानाकर्षण र खानेपानी बोर्डको धरान कार्यालयमा धर्ना तथा तालाबन्दी गरेका थिए ।
तर, तालाबन्दी नगर्न उच्च अदालत विराटनगरले आदेश दिएपछि खानेपानी बोर्डमा लगाएको ताला खोली उनीहरूले बिहीबार देखी धरान उपमहानगरपालिकाको कार्यालय केन्द्रित आन्दोलन चर्काएका थिए ।