काठमाडौं । सरकारले आश्वासन मात्रै दिएर झुलाएपछि १५ महिनादेखि आन्दोलित सहकारीपीडितले आज मुखमा कालोपट्टी बाँधेर मानव साङ्लोसहित टुँडिखेल घेराउ गरेका छन् । देशभरका पाँच सयभन्दा बढी सहकारीको अर्बौं रुपैयाँ डुबेको तर बारम्बार सहमति गरेको सरकार संवेदनहीन हुँदा आफूहरुले बचत फिर्ता पाउन नसकेको पीडितको गुनासो छ ।
मुखमा माक्स र कालो टेप, हातमा रकम फिर्ताको हारगुहार गरिएका शब्दहरुको ब्यानर । डेढ वर्षदेखिको आन्दोलनका क्रममा पटक-पटक गरेका सहमति कार्यान्वयन नभएपछि आक्रोशित सहकारीपीडितले काठमाडौंको टुँडिखेलमा मानवसाङ्लो बनाएर सरकारलाई दबाब दिएका छन् ।
सरकार आफैंले सहकारीलाई तीनखम्बे अर्थनीतिको आधार मानेको छ । तर उद्देश्यअनुसार काम नहुँदा तिनै सहकारीबाट लाखौं निक्षेपकर्ता पीडित भएका छन् । डेढ वर्षदेखि आफ्नो रकम फिर्ताको माग गरेका बचतकर्ता तालुकदार मन्त्रीसँग सम्झौता हुँदासमेत कार्यान्वयन नभएपछि आजित मात्रै बनेका छैनन्, पैसा डुब्ने पीरले इन्तु न चिन्तु छन् ।
आफैंले बचत गरेको रकम फिर्ता मागेर सहकारीपीडितले माइतीघर, तीनकुने हुँदै शान्तिवाटिकामा कठ्यांग्रिँदो जाडो, चर्को गर्मी र बर्खा सडकमै खेपेका छन् । जिल्ला-जिल्लामा पनि आन्दोलन भएको छ । तर सरकार रमिते बनेको सहकारीपीडित राधा महर्जन, पूर्णनारायण श्रेष्ठलगायतको आरोप छ ।
सहकारी पीडित र सरकारबीच २०८० साल साउन र चैतमा सम्झौता भइसकेको छ । तर कार्यान्वयन त परको कुरा, देशभर कति पीडित छन् भन्ने एकिन तथ्यांकसमेत सरकारसँग छैन । संघर्ष समितिले भने देशभर तीन सय सहकारीका ५० लाखभन्दा बढी पीडित रहेको बताएको छ ।
यो पनि...
काठमाडौंको टुँडिखेल र रत्नपार्कमा सहकारीपीडितको मानवसाङ्लो [फोटो फिचर]