त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न आएको भारतीय टोली फर्कियो

श्रावण १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न आएको भारतीय टोली फर्कियो

चितवन । चितवनको नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर २९, सिमलतालस्थित त्रिशूली नदीमा हरारहेका दुईवटा बस र यात्रुको लगातार आठ दिन खोजी गरेको भारतीय टोली आज (आइतबार) फिर्ता भएको छ ।

जिल्ला सुरक्षा समितिको आज दिउँसो बसेको बैठकमा समीक्षापछि जिल्ला प्रशासन कार्यालय चितवनले भारतीय उद्धार टोलीलाई बिदाइ गरेको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भारतीय टोलीले चुम्बकको प्रयोग गरेर खोजी गरे पनि बस फेला पार्न नसकिएपछि बिदाइ गरिएको बताउनुभयो । उहाँले टोली फर्किए पनि फरक ‌ढंगले खोजीलाई निरन्तरता दिने पनि जनाउनुभयो ।

यसैबीच चितवन प्रशासनले दुर्घटनामा मृत्यु भएका र बेपत्ताहरुको तथ्यांक र अन्य प्रशासनिक काम सकेर आवश्यक कागजातसहित भुक्तानीका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने काम सुरु गरेको छ । सरकारले दुर्घटनामा मृत्यु भएका र बेपत्तालाई समेत मृतकसरह मानेर राहत दिने निर्णय गरेकाले सोहीअनुसार कागजात तयार पारेर भुक्तानीका लागि सम्बन्धित प्रशासन कार्यालयमा पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो ।

गत असार २८ गते पहिरोले दुईवटा बसलाई त्रिशूली नदीमा खसालेको थियो । ती दुवै बसमा गरी ६५ यात्रु चढेका थिए । जसमध्ये तीनजना हामफालेर बाँच्न सफल भएका थिए । दुर्घटनामा परेर अहिलेसम्म भेटिएका २४ मध्ये २० शवको सनाखत भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement