बल्ल जोडियो सुस्ता, बन्यो झोलुंगे पुल

पुलले करिब ३५० घरधुरी रहेको सुस्तापारिका बासिन्दालाई मूल भूमिसँग जोडिदियो
श्रावण १२, २०८१ |नवीन पौडेल
बल्ल जोडियो सुस्ता, बन्यो झोलुंगे पुल

नवलपरासी । तीनतिर नारायणी नदी र एकतिर भारतीय भूमिले घेरिएको पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ को सुस्तागाउँ जान अब झोलुंगे पुल बनेको छ । झोलुंगे पुलले सुस्ता पुग्न जोखिम मोलेर डुंगाबाट नारायणी तर्नुपर्ने दिनको अन्त्य भएको छ । अब भारतीय भूमि हुँदै हिँडडुल गर्नुपर्ने बाध्यता पनि हटेको छ । त्यसैले सुस्ताका बासिन्दा पुल बनेसँगै खुसी भएका छन् ।

राति नारायणी नदीमा डुंगा नचल्दा अत्यावश्यक काम आइलागे भारतीय एसएसबीको कडा निगरानीका बीच हिँड्नुपर्ने बाध्यता सुस्ताका बासिन्दालाई थियो । तर अब नारायणीमा झोलुंगे पुल बनेको छ । यसले सिर्जना गरेको सहज अवस्था शब्दमा व्यक्त गर्न सकिने खालको छैन । भारतीय अतिक्रमणको चपेटामा परेको सुस्ताका बासिन्दाले आफ्नो भूमि रक्षाका लागि भारतीयसँग संघर्ष गरिरहनुपर्ने तर सामान्य कामका लागि पनि भारतकै भर पर्नुपर्ने अवस्थालाई पुलले अन्त्य गरिदिएको स्थानीय रवीन्द्र जयसवाल बताउनुहुन्छ ।

आफ्नै भूमिमा जान भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्यो

करिब ३५० घरधुरी रहेको सुस्तापारिका बासिन्दालाई यो पुलले मूल भूमिसँग जोडिदिएको छ । हेर्न आकर्षक यो पुल बनेसँगै सुस्तामा आन्तरिक पर्यटक आउन थालेका छन् । जसले गर्दा पुलवरपर पसल तथा खाजाघरहरु खुल्न थाल्दा व्यापार-व्यवसाय पनि बढेको छ । सुस्ता गाउँपालिकाले यो गाउँलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, होमस्टे सञ्चालन गर्नेलगायत योजना बनाउन थालेको अध्यक्ष टेकनारायण उपाध्यायको भनाइ छ ।

यो पुल १५ सय ७१ मिटर लामो छ । ९ वर्ष लगाएर त्रिशूली आश्रय जेभी कन्ट्रक्सन कम्पनीले २९ करोड रुपैयाँ लागतमा पुल बनाएको हो । यो पुल नदीमाथि बनेको भौतिक संरचना मात्रै नभई सुस्ताका बासिन्दालाई राज्यसँगको अपनत्व महसुस गर्ने जीवन्त माध्यम बनेको छ ।

हेर्नुहोस् नवीन पौडेलका थप स्टोरी ।


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement