वैशाखमा आगलागी हुँदा घरबारविहीन बनेका १ सय २ परिवारको अझै हुन सकेन पुनर्स्थापना

श्रावण ८, २०८१ |विकास आर्या
वैशाखमा आगलागी हुँदा घरबारविहीन बनेका १ सय २ परिवारको अझै हुन सकेन पुनर्स्थापना

महोत्तरी । महोत्तरीको मटिहानीस्थित जरलहवा बस्तीमा गत वैशाखमा आगलागी हुँदा घरबारविहीन १ सय २ परिवारको अझै पुनर्स्थापना हुन सकेको छैन । 

बर्खा अगावै सरकारले बासको व्यवस्था गरिदेला भन्ने उनीहरूको आशा थियो ।  तर नेता र मन्त्रीले भने आश्वासन मात्रै बाँडेको उनीहरूको गुनासो छ । बर्खामा सास्ती काटिरहेका उनीहरूले तत्काल बासको बन्दोबस्त गरिदिन आग्रह गरिरहेका छन् ।

गत वैशाख १२ गते महोत्तरीको मटिहानी ६ स्थित मुस्लिम  टोल जरलहवा बस्तीमा भीषण आगलागी भएको थियो । आगलागीबाट १ सयभन्दा बढी घरपरिवारको सम्पत्ति खरानी हुँदा त्रिपालको बास छ । जेठ गर्मी र बर्खाको झरी उनीहरूलाई दिनरात काट्न गाह्रो छ । ३ महिना बितिसक्दा पनि तीनै तहका सरकारले पीडितको उचित बासस्थानको व्यवस्था गर्न सकेका छैनन् ।

केही संघ संस्थाले पीडितलाई राहत वितरण गरिरहँदा राख्ने ठाउँको अभावमा दिइएका समानहरू उपयोगहीन भएका छन् । आगलागी भएको केही दिनपछि मधेस प्रदेशका तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवसँगै सांसद र मन्त्रीहरूले पीडितको अवस्था बुझ्न आउँदा घर बनाउन पहल गर्ने आश्वासन दिए तर अहिलेसम्म कार्य प्रगति शून्य छ । 

स्थानीय सरकार पनि पीडितको पुनर्स्थापनामा कुनै पहल गर्न सकेको छैन । जोखिमपूर्ण रुपमा बस्दै आएका पीडितलाई उचित बसोबासको व्यवस्था गर्नेतर्फ सरोकारवाला सबै पक्ष गम्भीर हुनुपर्ने देखिन्छ ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement