लापरबाहीले ४१ वटा यातायात कार्यालयका सेवा दिनभर ठप्प, विभाग मूकदर्शक

श्रावण ७, २०८१ |विकास आचार्य
लापरबाहीले ४१ वटा यातायात कार्यालयका सेवा दिनभर ठप्प, विभाग मूकदर्शक

काठमाडौं । सर्भर डाउन हुँदा देशभरका ४१ वटा यातायात कार्यालय आज (सोमबार) दिनभर ठप्प बने । विभिन्न काम लिएर यातायात कार्यालय पुगेका हजारौं सेवाग्राही निराश भएर फर्किए ।

यातायात कार्यालयमा सर्भर डाउन भएर सेवाग्राही फर्कनुपरेको यो पहिलोपटक भने होइन । दिनदिनैजसो यो समस्या दोहोरिने गरेको छ । तर विभागले सेवा चुस्त बनाउन कुनै चासो नै दिएको छैन । सर्भर डाउनका कारण काम गर्न नसक्ने भन्दै कर्मचारीले हात उठाइरहँदा र सेवाग्राहीले सास्ती भोगिरहनुपर्दा विभाग किन मूकदर्शक बनिरहेको छ त ? प्रश्न यही उठेको छ ।

खास समस्या के हो ?

यातायात व्यवस्था विभागले तीन वर्षअघि आईटीविज्ञ सबिन श्रेष्ठलाई वार्षिक पाँच लाख रुपैयाँ दिएर डेटा बेस, अनलाइन प्रणाली र नागरिकको गुनासो हेर्ने गरी करारमा नियुक्त गर्यो । तीन महिनाअघि उहाँको करार सम्झौता सकिएको छ ।

सम्झौता सकिएपछि पनि केही समय उहाँले विभागले भनेको काम कम गर्दै जानुभयो । अहिले उहाँ थाइल्यान्डमा हुनुहुन्छ । यता सबै सर्भर डाउन छ । विभागले अर्को विज्ञ व्यक्ति नियुक्त गर्न सकेको छैन ।

देशभरका ५५ लाख नागरिकको डेटा यातायात व्यवस्था कार्यालयमा छ । तर, विभागसँग न दक्ष जनशक्ति छ न नागरिकको डेटा सुरक्षित हुने विश्वासिलो आधार नै । यसले व्यक्तिगत सूचना चुहिने जोखिमसमेत उत्तिकै देखिएको छ ।

विस्तृत भिडियोमा :


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।