काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उपसभामुख इन्दिरा रानामगरले भिसाको अग्रिम मितिका लागि अमेरिकी दूतावासमा पठाएको पत्रको बचाउ गर्दै विज्ञप्ती जारी गरेको छ । रास्वपाले आज विज्ञप्ति जारी गर्दै भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध नभएको बताएको हो।
रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा विभिन्न कूटनीतिक निकाय एवं जानकारहरूसँग बुझ्दा धेरै राजनीतिक दलका नेताहरूले अन्तर्वार्ता मिति मात्र होइन भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको उल्लेख छ ।
आफ्ना सारा आम्दानी र सम्पत्ति निस्वार्थ समाजसेवामा लगाएकी उपसभामुख राना विभिन्न प्रतिष्ठित राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कारबाट समेत विभूषित भएको रास्वपाले जनाएको छ ।
संघीय संसद सचिवालय लगायत अन्य उच्च पदासीन व्यक्तिहरूलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचार गरिनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको रूपमा रास्वपाले बुझेको विज्ञप्तीमा उल्लेख छ ।
यो पनि हेर्नुहोस् :-