लाइसेन्समाथि अनियमितता : कसरी गराइन्छ फेल भएकालाई पास ?

नेपालमा छैनन् सरकारी ट्रायल सेन्टर, बिचौलियाद्वारा जनही ४० हजारसम्म असुली
भाडामा ट्रायल सेन्टर न पूर्ण मापदण्डमा छन् न उनीहरुले सरकारलाई टेर्छन्
श्रावण १, २०८१ |विकास आचार्य
लाइसेन्समाथि अनियमितता : कसरी गराइन्छ फेल भएकालाई पास ?

काठमाडौं । देशभरका यातायात कार्यालयबाट कर्मचारी र ट्राफिक प्रहरीको मिलेमतोमा ट्रायलमा फेल भएका परीक्षार्थीलाई समेत पास भएको देखाएर लाइसेन्स बाँड्ने गरिएको खुलासा भएको छ । कर्मचारीहरुले सिस्टममै प्रवेश गरेर डेटा फेरबदल गरिदिएको एक लाख दुई हजार लाइसेन्सको सीआईबी र अख्तियारले अनुसन्धान गरिरहेकै बेला यातायात कार्यालयको अर्को अनियमितताको शृंखला उदांगो भएको हो । छिनभरमै फेललाई पास गराइदिने गिरोहको चलखेल कसरी चलिरहेको छ ? अनि, कुन-कुन यातायात कार्यालयबाट यस्ता लाइसेन्स बाँडिएका छन् ?

कर्मचारीहरुले सिस्टममै प्रवेश गरेर डेटा फेरबदल गरिदिएको एक लाख दुई हजार लाइसेन्सको सीआईबी र अख्तियारले अनुसन्धान गरिरहेकै बेला यातायात कार्यालयमा वर्षौंदेखि अर्को अनियमितता चल्दै आएको तथ्य बाहिरिएको छ । लिखित वा ट्रायलमै सेटिङ गरेर सोही दिन पास गराइदिनेदेखि फेल भएकाहरुलाई भोलिपल्टै या केही दिनको अन्तरालमा पास गराइदिनेसम्म गरेको पाइएको छ ।

कसरी हुन्छन् त फेल भएका पनि पास ?

कुनै सेवाग्राहीले सवारी चालक अनुमति पत्र अर्थात् लाइसेन्स प्राप्त गर्ने प्रक्रियाको पहिलो चरणस्वरुप लिखित परीक्षाको फाराम भर्छन् । वर्ग थप गर्नेले लिखित परीक्षा दिनु नपरे पनि प्रयोगात्मक परीक्षाको प्रक्रिया भने पूरा गर्नुपर्छ । प्रक्रिया सुरु गर्दा नै धेरैजसो बिचौलियाको सम्पर्कमा पुगिसकेका हुन्छन् । अनि सुरु हुन्छ, सेटिङको सिलसिला ।

बिचौलियाले कर्मचारी र ट्राफिक प्रहरीमार्फत काम फत्ते गर्छन्, परीक्षार्थी लिखित या ट्रायलमा फेल भए सोही दिन उत्तीर्ण भएको जनाउने सूचीमा नाम चढाइदिन्छन् । र, पास भएसरह उनीहरुको प्रक्रिया कानुनी रुपमै अघि बढ्छ । अर्कोतिर फेल भएका परीक्षार्थी यातायात कार्यालयबाट बाहिरिँदै गर्दा बिचौलियाले सम्पर्क गर्छन् र रकमको मोलमोलाई मिलेपछि सिस्टममा प्रवेश गरेर पास भएको सूचीमा नाम चढाइदिन्छन् ।

हामीले केही सेवाग्राहीलाई यस विषयमा सोधखोज गर्दा बिचौलियाले काम गरेबापत २० हजारदेखि ४० हजारसम्म माग्ने गरेको बताए । यातायात व्यवस्था विभाग स्रोतबाट प्राप्त तथ्यांकअनुसार २०७२ यता यातायात व्यवस्था कार्यालय चाबहिलबाट मात्रै पाँच हजारभन्दा बढी सेवाग्राहीले सेटिङबाट लाइसेन्स प्राप्त गरेका छन् । अघिल्लो आर्थिक वर्षमा मात्रै चाबहिलबाट २२० जनाले यसरी लाइसेन्स पाएको देखिन्छ ।

सेटिङ यातायात कार्यालय चाबहिलमा मात्रै छैन, ललितपुरको एकान्तकुना कार्यालयबाट ५२०, इटहरी कार्यालयबाट ४७३, काठमाडौंको ठूलोभर्याङ कार्यालयबाट ४१२ र बुटबल कार्यालयबाट १३१ वटा लाइसेन्स जारी भएको देखिएको छ ।

देशभरका ४० कार्यालयबाटै फेल भएकालाई पास भएको देखाएर लाइसेन्स बाँडिएको देखिन्छ । अन्य कार्यालयबाट भने एक सयभन्दा तलको सख्यामा बाँडिएका छन् । मधेश प्रदेशका कार्यालयको हकमा भने सुरुमै सेटिङ मिलाएको पाइएको छ । ‘प्रश्न उठेका छन् । हामी कसरी यसलाई नियन्त्रणमा लिन सकिन्छ अब खोज्छौं,’ यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भन्नुभयो ।

अन्तरार्ष्ट्रिय अभ्यासहरु हेर्ने हो भने लाइसेन्स प्राप्त गर्न प्रक्रियामा प्रवेश गरेको परीक्षार्थीको लिखित परीक्षाको पत्र कम्युटरले नै जाँच गर्ने र सोहीअनुसार परीक्षाफल प्रकाशित गर्ने गरिन्छ । प्रयोगात्मक परीक्षा भने सेन्सर जडित ट्रायल सेन्टरमा गरिने हुँदा तत्काल परीक्षार्थी पास या फेल भएको थाहा हुन्छ । जहाँ कर्मचारी र प्रहरीले चलखेल गर्ने ठाउँ पाउँदैनन् । तर, नेपालमा भने सरकारी ट्रायल सेन्टर नै छैनन्, अधिकांश भाडामा छन् । न पूर्ण मापदण्डमा छन् न उनीहरुले सरकारलाई टेर्छन् । यसको गलत फाइदा ट्रायल सेन्टर सञ्चालकदेखि बिचौलिया, कर्मचारी र प्रहरीले उठाइरहेका छन् ।

हेर्नुहोस् विकास आचार्यका थप स्टोरी ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।