भोटेकोशीमा आएको बाढीले बेलिब्रिज बगायो, बाह्रबिसे-तातोपानी सडकखण्ड अवरुद्ध

असार ३१, २०८१ |कमला पाख्रिन
भोटेकोशीमा आएको बाढीले बेलिब्रिज बगायो, बाह्रबिसे-तातोपानी सडकखण्ड अवरुद्ध

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा गएरातिको वर्षापछि भोटेकोशीमा आएको बाढीले एउटा बेलिब्रिज बगाएको छ ।

खागादलस्थित बेलिब्रिज बगाउँदा अरनिको राजमार्गको बाह्रबिसे- तातोपानी सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा तातोपानी नाकाबाट आयात भएका सामान बाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भटराईले जानकारी दिनुभएको छ । 

उच्च जोखिममा परेका खागादलका ३ घरपरिवारलाई राति नै सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोककै मेलम्ची-पाँचपोखरी सडकखण्ड पनि अवरुद्ध भएको छ । याङग्री लार्के खोलामा आएको बाढीले तिपेनी लगायत विभिन्न ठाँउमा सडक बगाएको छ । 

पाँचपोखरी गाँउपालिका-६ स्थित चिन्डेमा ठाडोखोलाको बाढीले झोलुंगे पुल बगाएको छ । बाढीले तिपेनीस्थित नेसनल हाइड्रोपावरको  विद्युत् गृह र बाँधमा पनि क्षति पुर्‍याएको छ । खेतीयोग्य जमिनमा पनि बाढी पसेको पाँचपोखरी थाङपाल गाँउपालिकाका अध्यक्ष टासी लामाले बताउनु भयो ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।