दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि

मंसिर ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

ढुंगानाको पार्थिव शरीरमा दुई छोराले दागबत्ती दिनु भएको थियो भने नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । त्यसअघि ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि काठमाडौंको सानो गौचरनमा राखिएको थियो । सरकारी उच्च पदस्थ व्यक्तिहरु, राजनीतिक दलका नेतालगायत सानो गौचरन पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली सानो गौचरन पुगेर ढुंगानाको पार्थिव शरिरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ढुंगानाको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाउनुभयो ।

ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित विभिन्न राजनीतिक दलका शीर्ष नेता पुग्नुभएको थियो । 

त्यसैगरी नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, बुद्धिजीवी, सरकारी कर्मचारीहरु र शुभेच्छुकलगायत पनि सानो गौचरन पुगेर ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गरे । कलेजोसम्बन्धी समस्याबाट पीडित ढुंगानाको हिजो निधन भएको हो । स्वर्गीय ढुंगानाका श्रीमती, दुई छोरा र एक छोरी छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.