अजरबैजान । अजरबैजानको बाकुमा आयोजित जलवायु सम्बन्धी सम्मेलन 'कोप-२९' मा धेरै कर्मचारी लगेको आरोप लागेका वनमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालमा कोपसम्बन्धी बुझाइ नै सकारात्मक नभएको गुनासो गर्नु भएको छ ।
उहाँले कोप सम्मेलनमा भएको व्यस्तता हेर्ने हो भने आफूलाई अझै जनशक्ति कमीको महसुस भएको बताउनु भयो । कोप-२९ मा वन मन्त्रालयबाट अनावश्यक रुपमा कर्मचारी गएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत असन्तुष्टि पोखेको सन्दर्भमा उहाँले ठूलो टोली बाकु गयो भनेर प्रधानमन्त्रीलाई भ्रम छर्ने काम भएको जनाउनु भयो ।
उहाँले भन्नु भयो, 'यहाँको व्यस्तता हेर्दा हामी अझै कमी भयौं भन्ने महसुस भएको छ । प्रधानमन्त्रीलाई भ्रम छर्ने काम भयो । तर, त्यस्तो होइन, म स्वदेश पुगेपछि प्रधानमन्त्रीलाई बुझाउँछु ।' मन्त्री ठकुरी आज स्वदेश फर्किँदै हुनुहुन्छ ।
शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५३औँ बैठकमा प्रधानमन्त्री ओलीले कोप-२९ मा सहभागी हुने टोलीमा वन मन्त्रालयकै कर्मचारी बढी गएको गुनासो आएको प्रसंग उठाएर असन्तुष्टि व्यक्त गर्नु भएको थियो । उहाँले सुशासनको पक्षमा लाग्नुपर्ने भन्दै यस्ता गतिविधि नदोहोर्याउन बैठकमा सचेत गराउनु भएको थियो ।
यसैगरी, वन मन्त्रालयबाट धेरै कर्मचारी कोप-२९ मा सहभागी हुन गएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो व्यक्त गरेको थियो ।