अझै भेटिएनन् त्रिशूलीमा बेपत्ता भएका बस र यात्रु

आखिर किन कठिन हुन्छ त्रिशूली नदीमा उद्धार ?
असार ३०, २०८१ |रमेश धमला|राजु चौधरी
अझै भेटिएनन् त्रिशूलीमा बेपत्ता भएका बस र यात्रु

काठमाडौं । चितवनको सिमलतालमा पहिरोमा परेर त्रिशूलीमा बस खसी बेपत्ता भएका यात्रुको तेस्रो दिनसम्म पनि पत्तो नलागेपछि आफन्तहरू शोकाकुल छन् । आफन्तहरू जीवितै फेला पर्ने आशा मारिसकेका उनीहरूले चाँडै शव खोजिदिन सरकारलाई आग्रह गरिरहेका छन् । शव फेला परेमा आआफ्नो रीतिरिवाजअनुसार अन्तिम संस्कार गर्न पाइन्थ्यो भन्ने उनीहरूको आग्रह छ । घटनास्थल र खोजी चलिरहेको ठाउँमा उनीहरू आफन्तको खबर पाइने आशामा भोकै प्यासै बसिरहेका छन् । 

पहिरो र बाढीका कारण अहिले राजमार्गको यात्रा त्यति सहज छैन । त्यसमा पनि पृथ्वीराजमार्ग त यस वर्ष अत्यन्तै कठिन छ । गत शुक्रबार बिहानको पहिरोले गुडिरहेका २ वटा यात्रुवाहक बस बगाउँदा बस र यात्रु त्रिशूलीमा बेपत्ता छन् । तीन दिनदेखि सुरक्षाकर्मीले खोजी गरिरहे पनि पनि पत्ता लाग्न सकेको छैन । उद्धार टोलीले कस्तो प्रविधि प्रयोग गरिरहेका छन् हराइरहेको बस र यात्रुको खोजीका लागि ? त्रिशूली नदीमा उद्धार किन कठिन हुन्छ ? सबैको चासो यसैमा छ ।

नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा  बेपत्ता २ वटा बस अझै भेटिएको छैन । तीन दिनसम्म नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको तालिम प्राप्त टोलीले खोजी गरिरहेको छ । पाँच जनाको शव घटनास्थल भन्दा करिब ४० किलोमिटर टाढा भेटिए पनि दुईवटै बस र त्यसमा सवार अन्य यात्रु फेला परेका छैनन् । 

सशस्त्र प्रहरी बलको कुरिनटारस्थित बेसका विपद् उद्धारका सबैभन्दा दक्ष ९० जनाभन्दा बढी परिचालन गरिएको छ भने नेपाली सेनाले पनि उत्तिकै सङ्ख्यामा उद्धारकर्मी परिचालन गरेको छ । तर निरन्तरको वर्षा र नदीमा बढ्दो पानीको बहावले खोजीमा कठिनाइ भइरहेको हो । 

सशस्त्र प्रहरीले शनिबार मात्रै पानीभित्र हराएको सामान हेर्न मिल्ने वाटर ड्रोनको प्रयोग गर्‍यो । त्यस्तै पानीमै स्क्यान गर्ने सोनार, पाइप इन्फेक्सन जस्ता भएका सबै प्रविधि खोजीमा प्रयोग भइसकेको छ । १ सय १० जना गोताखोर रहेको सशस्त्रले २० जनाभन्दा बढीलाई त्रिशूलीमै परिचालन गर्दा पनि पत्तो लागेको छैन । सुरक्षाकर्मीहरूका पानीमा मिसिएको लेदो तथा जुगेडी र काली खोला क्षेत्र साँघुरो र अत्यन्तै गहिरो हुँदा बस पत्ता नलागेको हो ।

सशस्त्र प्रहरी बल कुरिनटार तालिमकेन्द्रका प्रमुख एसएसपी माधव पौडेलले पनि पानीमा हुने उद्धारका लागि आवश्यक उपकरण भए पनि लेदोकै कारण समस्या भएको बताउनु भयो ।  त्यसो त त्रिशूली नदीमा खसेका सवारी साधन नभेटिएको पहिलो पटक भने होइन । 

२०८० साल भदौदेखि गत चैतसम्म मात्रै त्रिशूलीमै ६ घटनामा २४ जनाको ज्यान गएको छ भने ५७ जना घाइते भए । जुगेडी र कालीखोला क्षेत्र सबैभन्दा जोखिमपूर्ण ठाउँ हुन् । अन्य स्थानबाट आएका खोला पनि त्यहीँ मिसिने र खोँच भएकाले खोजी गर्न कठिन भएको सुरक्षाकर्मीको अनुभव छ ।

२०७३ साल असोजमा पूर्व गृहमन्त्री माधव घिमिरेको सवारी घोप्टेभिरबाट त्रिशूली नदीमै खसेको थियो । जुन अझै भेटिएको छैन । घोप्टे भिरबाटै खसेको १२ चक्के ट्रकसमेत त्रिशूलीमै गायब भयो । घिमरेको खोजीका लागि त बंगलादेशबाट बोलाइएको गोताखोर टोली नदीमै नगई फर्किएको थियो ।

त्यसैले त्रिशूलीमा खसेका सवारी साधन केही भेटिन्छन् केही गायब हुन्छन् । जानकारहरूका अनुसार यसको कारण नदीमा पानीको उच्च बहाव नै हो । वर्षा रोकिएर नदी सङ्लो भए खोजीमा सहज हुने सुरक्षाकर्मीको अपेक्षा छ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement