विदेशबाटै अवैध नेटवर्किङ धन्दा चलाएर नेपालमा करोडौँको ठगी

६३ जनाविरुद्ध मुद्दा दायर, थप ५७ माथि उजुरी
ठगीमा गैरआवासीय नेपाली नै संलग्न रहेको प्रहरीको आशंका
असार २६, २०८१ |रमेश धमला
विदेशबाटै अवैध नेटवर्किङ धन्दा चलाएर नेपालमा करोडौँको ठगी

काठमाडौं । नेटवर्किङ व्यवसाय नेपालमा सञ्चालन गर्न पाइँदैन अर्थात् कानुनले नै अवैध भनेको छ । विगतमा युनिटी लाइफ, हर्वो जस्ता कम्पनीबाट सर्वसाधारण अर्बौं रकम ठगिएपछि सरकारले त्यस्ता व्यवसाय सञ्चालनमा रोक लगाएको हो । तर कोरोना महामारीका बेला विदेशमा बस्ने नेपालीले नै नेटवर्किङ व्यवसाय गरेर सयौँ नेपाली ठगेको खुलेको छ । 

हाइपर फन्डका नाममा विदेशमा बसेका नेपालीले चलाएको अवैध धन्दाले १४ करोडभन्दा बढी ठगिएको अनुसन्धानबाट देखिएको हो । तर यो रकम अझ बढी हुनसक्ने र ठगीको सञ्जालमा गैरआवासीय नेपालीहरू नै संलग्न रहेको आशंका प्रहरीको छ । नेपालमा ठगीको नयाँ शैली देखिएको छ, हाइपर फन्ड ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले वैशाख २१ गतेदेखि गरेको गैरआवासीय नेपालीले चलाएको हाइपर फन्डसम्बन्धी अनुसन्धानका क्रममा धेरै नेपाली ठगिएको खुलासा भएको हो । हाइपर फन्डका नाममा अहिलेसम्म १४ करोड रुपैयाँ ठगी भएको देखिएको हो । सन् २०२१ मार्च ९ मा अस्ट्रेलियामा एक चिनियाँ नागरिकले हाइपर भर्स नामको ब्लकचेन टेक्नोलोजी कम्पनी खोले । जसको सञ्चालकमा नेपाली पनि थिए । ३ सय डलर तिरेर सदस्य बन्न सकिने त्यो नेटवर्किङ व्यवसाय हो । 

थोरै लगानी गरेर सदस्य बनाउन सक्नेले दोब्बरसम्म कमाइ हुने भन्दै पोर्चुगलमा बस्दै आएका योगेन्द्र छन्त्याल पहिलो सदस्य बनेको प्रहरी अनुसन्धानबाट खुलेको छ । बाग्लुङका योगेन्द्रले नै अन्य नेपालीलाई हाइपर फन्डमा लगानी गरे तीन गुणासम्म आम्दानी हुने भन्दै सदस्य बनाएका थिए । त्यही समूहमा इजरायल बस्दै आएकी नानु घिमिरे अर्को मुख्य सञ्चालकको रूपमा जोडिएकी थिइन् । त्यही नेपालीको समूहले विदेशमै बसेर १४ करोड लाख ठगिएको भन्दै पीडित सीआईबी पुगेपछि यो धन्दाको खुलासा भएको हो ।

सीआईबीले करिब २ महिना लगाएर गरेको अनुसन्धानका क्रममा हाइपर फन्डमा सदस्य बनेकाले थप सदस्य बनाउँदै गए कमिसन बढ्दै जाने र तीन गुणासम्म हुने बताएपछि एकै जनाले ४० लाख रुपैयाँसम्म लगानी गरेको खुलेको हो । तर २०२५ सम्म चल्ने भनिएको साइट दुई वर्षपछिनै चल्न छाडेपछि विदेशमा बस्ने नेपालीको अवैध धन्दा खुलेको हो । 

अहिले नेपालमा रहेका ५८ जना पीडितले जाहेरी दिएका छन् । जसमा १४ करोड ठगिएको भनिएको छ । पहिलो चरणको मुद्दा अदालत पुगिसकेको छ भने पीडितहरू आउने क्रम नरोकिएपछि दोस्रो चरणको अनुसन्धान अगाडि बढेको छ । यसमा पोर्चुगल र बेलायतमा बस्ने नेपालीको समेत लगानी रहेको प्रहरीको दाबी छ । यो समूहले हाइपर फन्डका नाममा ठूलो रकम असुलेको हुन सक्ने देखिएको छ । 

थोरै पैसा लगानी गरेर धेरै कमाउने प्रलोभनमा खाडी मुलुकमा रहेका सयौँ नेपाली परेका छन् । नेटवर्किङ व्यवसाय सञ्चालन गरेर ठगी गर्ने ६३ जनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ तर यी मध्ये धेरै विदेश भएकाले २ जनालाई मात्र पक्राउ गर्न प्रहरी सफल भएको छ । दोस्रो चरणमा थप ५७ जना विरुद्ध उजुरी परेको छ । अर्बौँ रकम ठगिएको हुन सक्ने र विदेशमा बस्ने गैरआवासीय नेपालीहरूको उच्च तहकै व्यक्ति संलग्न रहेको आशंकामा प्रहरीले त्यसतर्फ अनुसन्धान गर्ने बताएको छ । 

यसले पनि विदेशमा बसेर यो सङ्गठित धन्दा चलाउनेको ठूलो सञ्जाल रहेको देखाउँछ । बाहिर नगदमा कारोबार भएको नदेखिने तर सङ्गठित रूपमा चलिरहेको यो धन्दामा क्रिप्टोकरेन्सी पनि जोडिएको छ । सीआईबीले अधिकांश आरोपी विदेशमा रहेकाले हाइपर फन्डले कति रकम ठगेको छ भन्न नसकिने जनाएको छ ।

अवैध नेटवर्किङ व्यवसायमा क्रिप्टो करेन्सीमा कारोबार हुने, डिजिटल माध्यमबाट भुक्तानी हुने भएकाले त्यसलाई नियन्त्रण गर्ने चुनौती थपिएको छ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement