राप्तीको बाढी : आठ पटक डुबानमा परेको बर्मा परिवार...

१५ वर्षदेखि डुबानमा पर्दै आएको बाँके डुडुवाका बासिन्दालाई राप्तीको बाढीबाट बचाउन सरकारसँग छैन कुनै योजना
बर्खा लागेसँगै स्थानीयलाई जिउधन जोगाउने चिन्ता
असार १४, २०८१ |जे पाण्डे
राप्तीको बाढी : आठ पटक डुबानमा परेको बर्मा परिवार...

बाँके । पछिल्लो १५ वर्षदेखि हरेक बर्खामा डुबानमा पर्दै आएको बाँकेको डुडुवा गाउँपालिका-१ मा पर्ने बोर्डर चौफेरी र कृषि चौफेरीका तीन हजार नागरिकलाई राप्तीको बाढीबाट जोगाउन सरकारले कुनै रणनीति बनाउन सकेको छैन । राप्तीले तीन तिरबाट घेरिएको यी बस्तीका बासिन्दालाई यो बर्खामा कसरी जिउधन जोगाउने हो भन्ने चिन्ता छ । 

बोर्डर चौफेरीका झिनकोप्रसाद बर्मासँग राप्तीको बाढीमा पटकपटक डुब्दै र उत्रिँदै गरेको त्रासदीपूर्ण अनुभव छ । बर्मा परिवार कम्तीमा ८ पटक डुबानको चपेटामा परिसकेको छ । बर्खाको कालो बादल अकासमा देखिनथालेपछि बर्मा परिवारलाई जिउधनको रक्षा कसरी गर्ने भन्ने चिन्ताले पिरोल्छ । ‘कति पटक डुब्यौँ थाहै छैन । धेरै ठूलठूला बाढीमा ७/८ पटक भन्दा धेरै डुब्यौँ होला,’ बाँकेका झिनकोप्रसाद बर्माले भन्नुभयो, ‘जोगिने कुनै उपाय पनि छैन । यहाँ आश्रय स्थल बनाइएका छन् । त्यसैमा बसेर रात काट्ने गर्छौँ ।’

सोही गाउँका रक्षाराम यादव परिवारलाई पनि डुबानकै डर छ । रक्षारामका अशक्त बुबा विपद् आइलाग्दा भागेर ज्यान जोगाउन सक्ने अवस्थामा हुनुहुन्न । तीन दिनसम्म डुबानमा परेको घटना सम्झिँदा रक्षारामलाई अहिले पनि अत्यास लाग्छ । ‘बाढी आयो भने मानिससँगै पशु चौपायाका लागि पनि धेरै खतरा छ । बालबच्चा लिएर कहाँ भाग्ने समस्या छ । त्यसैले आश्रयस्थलमा गएर बस्छौँ, अरू विकल्प छौँ,’ बाँकेका रक्षाराम यादवले भन्नुभयो ।

जोखियुक्त ठाउँमा बस्दै आएका यहाँका नागरिकले आपत् पर्दा गुहार लाउने कोही पाउँदैनन् । त्यसैले बाढीको जोखिम आकलन गर्न स्थलगत अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारीको टोली देख्दा अनौठो मान्दै थिए । प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोली जिल्ला तहको स्रोतसाधनले यो बस्ती स्थानान्तरण गर्न सक्ने निष्कर्ष निकालेर फर्किएको छ । सरकारले सुरक्षित स्थलमा सार्ने कुनै योजना नल्याएपछि नदीले घेरिएका यी बस्तीमा आठवटा आश्रय स्थल र खतराको सूचना प्रवाहित गर्न ठूल्ठूला लाउडिस्पिकर जडान गरिएका छन् ।

खतराका संकेत चिन्हहरू घरपखार्लमा देख्न सकिन्छ । यी संकेतले बस्तीमा ७ फिटसम्म पानी जम्ने देखाउँछ । २०७१ सालको बाढीमा यहाँ ७ फिट पानी जमेको थियो । त्यति बेला मानिसले घरको छाना माथि बसेर गुहार मागेका थिए । 


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।