सरकारसँग पाँचबुँदे सहमति, तोडियो रुबी खानको अनशन

असार १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकारसँग पाँचबुँदे सहमति, तोडियो रुबी खानको अनशन

काठमाडौं । सरकारी वार्ता टोलीसँग पाँचबुँदे सहमतिसँगै रुबी खानले १८ दिन देखिको अनशन तोड्नुभएको छ । उहाँलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सोमबार साँझ जुस खुवाएर अनशन तोडाउनुभएको हो ।

बाँकेकी निर्मला कुर्मी र बर्दियाकी सुमदरानी थारूको मृत्युका सम्बन्धमा विभिन्न माग राखेर खान १८ दिनदेखि अनशनरत हुनुहुन्थ्यो ।

सरकारी टोलीको प्रयाससँगै राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारीको रोहबरमा पाँचबुँदे सहमति गरिएको छ । सरकारले सुमदरानी थारुको घटनाका आरोपीको खोजीलाई तीव्रता दिने सहमति गरेको छ । सुमदरानीको बलात्कारपछि हत्या भएको भन्दै परिवारले जाहेरी दिएको छ । आरोपितविरुद्ध पक्राउपुर्जी जारी भए पनि हालसम्म पक्राउ परेका छैनन् ।

सरकारसँग भएको सम्झौतामा निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीमा यसअघि गठित छानबिन समितिका प्रतिवेदन अध्ययन/विश्लेषण गरी कानुनबमोजिम शीघ्र निरुपण गर्न प्रहरी प्रधान कार्यालयबाट जिल्ला प्रहरी कार्यालय बाँकेलाई लेखी पठाउने भनिएको छ ।

सुमदरानीको घटनामा बाँके जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएका आरोपीलाई शीघ्र पक्राउ गरी कानुनी दायरामा ल्याउने उल्लेख छ । यसका लागि पीडित पक्षलाई कानुनबमोजिम दिन मिल्ने प्रगतिको व्यवहोरा अद्यावधिक गराउन पनि जिल्ला प्रहरी कार्यालय बाँकेलाई लेखी पठाउने भनिएको छ ।

त्यस्तै, बाँके प्रहरी कार्यालयबाट भइरहेको अनुसन्धान प्रभावकारी बनाउन सहजीकरण, नियमित सुपरीवेक्षण तथा निगरानी गर्न अपराध अनुसन्धान विभागलाई लेखी पठाउने सम्झौतामा उल्लेख छ ।

निर्मला कुर्मीको अपहरण तथा हत्या, सुमदरानीको बलात्कारपछि हत्या घटनामा प्रहरीको छानबिनमाथि प्रश्न उठाउँदै खानले अनशन थाल्नुभएको थियो ।

गृहमन्त्री लामिछानेकै निर्देशनमा गृह मन्त्रालयले उपसचिव एकदेव अधिकारीको संयोजकत्वमा तीन सदस्य रहेको टोली गठन गरिएको थियो । अधिकारी संयोजकत्वको टोलीका अन्य सदस्यहरूमा प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्ट र दिनेश न्यौपाने हुनुहुन्थ्यो ।

यसैगरी आन्दोलनरत पक्षका तर्फबाट रुबी खानको संयोजकत्वमा मनकुमारी गरताल, ललिता थारू, मो. शेर बागवान र रक्षा बम सदस्य रहेको पाँच सदस्यीय टोली गठन भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement